Rumpum

Rumpum Advertisement

मल पाउने आसमा भोकभोकै कृषक : सधैं रित्तै हात फर्किन्छन्

मल पाउने आसमा भोकभोकै कृषक : सधैं रित्तै हात फर्किन्छन्

मोहन ढकाल

विराटनगर, १४ भदौ । विराटनगरको धरान रोडमा अवस्थित कदमाह सहकारी संस्था अगाडि बिहान १० बजेको समयमा ठूलो हुलमा मानिसहरु जम्मा भएका थिए । त्यहाँ बुझ्दा विराटनगर र सुनसरीका विभिन्न ठाउँबाट मल लिन आएका किसानको भिड रहेछ । तर सहकारी भने बन्द अवस्थामा थियो ।

कृषकहरुले रासायनिक मल नपाएको भन्दै केहीबेर आन्दोलनसमेत गरेका छन् । समयमा नै धान रोपाईँ सम्पन्न भए पनि मलको अभाव भएपछि परिश्रम मात्रै खेर जाने अवस्थामा आएको भन्दै आन्दोलन गर्न बाध्य भएको उनीहरु बताउँछन् ।

मल लिन बिहानै आए पनि नपाएपछि रित्तै फर्किन बाध्य भएको विराटनगरका वेचन यादवले बताए । बिहानदेखि २–३ बजेसम्म मलको पर्खाइमा भोकै बस्न बाध्य भएको उनले बताए । मल आएको सुनेर दिनहुँ धाउँदासमेत सहकारी बन्द भएको र फोनसमेत नउठ्ने गरेको गुनासो उनले गरेका छन् ।

सुनसरी बर्जु–५ का टेकबहादुर कटवाल तीन–चार दिनदेखि भोकभोकै विराटनगरको कदमाह सहकारी संस्थामा धाइरहेका छन् । बिहानदेखि बेलुकासम्म बस्दा पनि मल नपाएकोप्रति उनले आक्रोस व्यक्त गरेका छन् । अहिले मल लगाउने मुख्य सिजनमा नपाए परिश्रम मात्रै खेर जाने उनले बताए । सहकारीले भने आजभोलि भन्दै टार्ने गरेको उनले बताए ।

साल्ट ट्रेडिङले आफैं मल वितरण गरेर किसानलाई सहज वातावरण मिलाइदिनु पर्ने उनको भनाइ छ । नभए साल्ट ट्रेडिङबाट डिलरको रुपमा रहेका सहकारीले नियमित मल वितरण गर्नुपर्ने उनको तर्क छ ।

सुनसरीका अर्का कृषक प्रकास राय पनि मल लिन दैनिक सहकारी धाउँदै छन् । तर सहकारीले आजभोलि भन्दै आलटाल गर्ने गरेको बताए ।

सरकारले कृषकलाई प्राथमिकता भनेर भने पनि दैनिक दुःख भोग्न बाध्य भएको विराटनगरका कृषक चण्डिध्वज निरौलाको बताउँछन् । सहकारीले आजभोलि भन्दै आलटाल गरेर कृषकलाई समस्यामा पारेको उनको भनाइ छ ।

उनीहरु त केही उदाहरणका पात्र मात्रै हुन् । मल पाउने सयौं किसान भोकभोकै बिहानदेखि बेलुकासम्म बस्न बाध्य भएका छन् । सहकारीले आजभोलि भन्दै झुक्याउँदा उनीहरु दिनहुँ अन्य काम छाडेर तातो घाममा भोकै धाउन बाध्य भएको बताउँछन् । सहकारीलाई मल वितरण गरे पनि सही तरिकाले बिक्रीवितरण गरे–नगरेको अनुगमन भने हुन सकेको छैन ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड विराटनगरका अनुसार अहिलेसम्म नौ सय ३६ मेट्रिक टन युरिया मल आयत भइसकेको र अरु पनि आउने क्रममा रहेको छ । आजसम्म लगभग आठ सय ५६ मेट्रिक टन युरिया मल सहकारी (डिलर) लाई वितरण गरिसकेको छ । मल लगेर पनि वितरण नगरेको पाइएमा सहकारीलाई कारवाही गरिने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड विराटनगरका प्रमुख राधेश्याम चौधरीले बताए ।