धरानमा आधा घण्टाकाे अन्तरमा कोरोना संक्रमित आमाछोराको मृत्यु

विराटनगर, १४ भदौ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकै दिन आमाछोराको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

आइतबार बिहान धरान उपमहानगरपालिका १७ ठेगाना भएका ७४ वर्षीय आमा र ६० वर्षीय छोराको मृत्यु भएको हो ।

दुईजनालाई शनिबार राति अस्पताल लगिएको छ । आमा छोराको मृत्यु भएकाे ४५ मिनेटको अन्तरमा भएको हो ।

धरान उपमहानगरपालिका १७ का वडा अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) का अनुसार दुई जनालाई शनिबार राति वीपी प्रतिष्ठान लगिएको थियो ।

७४ वर्षीय आमाको बिहान साढे ८ बजे मृत्यु भएको हो । छोराको मृत्यु ७ः४५ मा भएको हाे ।

मृतक दुबैमा अत्यधिक खोकी, उच्च ज्वरो र श्वासप्रश्वासको समस्या देखिएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

पौडेल थरका आमाछोरा दुबैलाई एउटै लक्षण देखिएपछि सँगै अस्पताल लगिएको थियो । वीपी प्रतिष्ठानका प्रवक्ता डा. सापकोटाका अनुसार आमालाई एक सातायता र छाेरालाई दश दिनयता कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको थियो ।

दुबैमा दीर्घरोग मधुमेह र उच्च रक्तचापको समस्या थियो । छोरामा दुई महिनायता कलेजाेको पनि समस्या देखिएको प्रतिष्ठानका प्रवक्ता डा. सापकोटाले जानकारी दिए ।

Loading...