Rumpum Advertisement

कोभिड–१९ अस्पताल नयाँ भवनमा

कोभिड–१९ अस्पताल नयाँ भवनमा

झापा, १४ भदौ । मेची अस्पताल भद्रपुरमा सञ्चालित कोभिड–१९ उपचार केन्द्र नयाँ भवनमा सारेर सेवा सुरु गरिने भएको छ ।

पुरानो भवनमा कोभिड र अन्य बिरामीको उपचार भइरहेकामा आजदेखि कोभिड–१९का संक्रमितलाई अलग भवनमा उपचारको व्यवस्था मिलाइएको अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले बताए । उनले आजै अस्पतालमा उपचारत रहेका २२ कोरोना संक्रमितलाई नयाँ भवनमा सारेर सेवा सुरु गरिने जानकारी दिए ।

नयाँ भवनमा संक्रमितको उपचारका लागि ८० शैय्याको व्यवस्था गरिएको छ । पुरानो भवनमा १२ शैय्याको आइसोलेसन भने यथावत राखिएको छ । गत साउन १९ गतेदेखि झापामा पहिलोपल्ट मेची अस्पतालमा कोभिडको उपचार सुरु गरिएको हो । अस्पतालमा कोभिड भाइरसको परीक्षण गर्ने पीसीआर ल्याबसमेत सञ्चालन हुँदै आएको छ ।

मेची अस्पतालको नयाँ भवनमा रहेको कोभिड–१९ उपचार केन्द्रको सुरक्षा व्यवस्थाको जिम्मेवारी नेपाली सेनाले लिएको र उपचारको व्यवस्थापन अस्पतालले नै हेर्ने गरेको अध्यक्ष पोर्तेलले बताए ।

कनकाइको पीसीआर छिट्टै

झापामा समुदायले चन्दा उठाएर कनकाइ नगरपालिका–२ मा स्थापना गरेको पीसीआर प्रयोगशाला छिटो सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए । उनका अनुसार नगरपालिकाले प्रयोगशालामा आवश्यक पर्ने तीन प्राविधिक कर्मचारी नियुक्ति गरी तालिमका लागि पठाइएको छ ।

मेची अस्पताल मातहत सञ्चालन हुने सो प्रयोगशाला झापाको एकका लागि एक नामक अभियानबाट सहयोग संकलन गरी स्थापना गरिएको हो । परीक्षण सफल भएपश्चात अभियानले प्रयोगशाला सरकारलाई हस्तान्तरण गरिने अभियानका सहसंयोजक विनोद बस्नेतले बताए ।