चितवनमा एकै दिन १०२ संक्रमित थपिए, दुईको मृत्यु

चितवन, १४ भदौ । एकै दिन शनिबार जिल्लाका १०२ जनामा कोरोना संक्रमण देखिएको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गर्न आएका दुईजनाको मृत्यु भएको छ ।

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवन मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणमा भेटिएका ६५ जनामध्ये ६१ चितवनका हुन् ।

धुलिखेल पठाइएको नमूनाको परीक्षणमा १२ जना चितवनका संक्रमित देखिएकका छन् । त्यसैगरी भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणको राति आएको नतिजामा ४३ जनामध्ये २९ चितवनका रहेको उनले जनाकारी दिए ।

जिल्लाबाट नमूना संकलन गरिएका १२० जनामा संक्रमण देखिएको छ । १८ जना भने जिल्ला बाहिरका रहेको उनले बताए । जिल्लामा संक्रमितको संख्या ६२७ पुगेको छ । तीमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकाका ३६४ जना छन् । त्यस्तै रत्ननगरका ८२, राप्तीका ७६, माडीका ५०, खैरहनीका ४३, कालिकाका नौ र इच्छाकामना गाउँपालिकाका तीनजना रहेका छन् ।

शनिबारै यहाँको चितवन मेडिकल कलेजमा उपचार गराइरहेका दुईजना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हालसम्म जिल्लामा ११ जनाको मृत्यु भएको छ । तीमध्ये चार चितवनका हुन् भने अन्य उपचारका लागि यहाँ आएका हुन् । जिल्लाको सरकारी अस्पताल भरतपुर, दुई मेडिकल कलेज, निजी अस्पताल, संस्थागत आइसोलेसन र घरमा संक्रमित रहेका छन् । एकै दिन यतिधेरै संक्रमण देखिएको यो पहिलो हो । दैनिक संक्रमण बढ्दै गएपछि जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

Loading...