Rumpum

Rumpum Advertisement

महामारीमा मोबाइल रक्तदान गर्दै बुढीगंगाका युवाहरु

महामारीमा मोबाइल रक्तदान गर्दै बुढीगंगाका युवाहरु

विराटनगर, १४ भदौ । कोरोना संक्रमणले गर्दा रगत संकलन कार्य लगभग ठप्पजस्तै छ । यसैले अस्पतालमा विरामीहरुले समयमा रगत पाउन धौधौ पर्ने गरेको छ । यसैले रगत अभावमा अकालमा बिरामीको मृत्यु नहोस् भनेर मोरङ बुढीगंगा गाउँपालिका सिजनशील युवाहरु महामारीको बेला रगतको कम हुन नदिन मोवाइल रक्तदान कार्यक्रम गरेर रगत संकलन गर्न जुटेका छन् ।

बुढीगंगा गाउँपालिका–१ मा रहेको सिर्जनशील युवा समाजमा आवद्ध युवाहरुले एक महिनादेखि गाउँगाउँमा पुगेर रक्तदान कार्यक्रम आयोजना गरेर रगत संकलन गर्न थालेका छन् । संकलन भएको रगत उनीहरुले बुढीगंगा–२ स्थित विराटनगर मेडिकल कलेज टिचिङ अस्पतालमा रहेको रेडक्रस शाखामा जम्मा गरिदिने गरेका छन् ।

‘हामीले पहिले सोझै रक्तदाता खोजेर बिरामीलाई ‘फ्रेस ब्लड’ दिलाउन सहयोग गर्ने गरेका थियौं । तर लकडाउन र निषेधाज्ञाले गर्दा दाताहरुलाई आउन–जान समस्या हुँदा रगतको अभाव नहोस् भनेर गाउँ–गाउँमा पुगेर मोवाइल रक्तदान कार्यक्रम आयोजना गर्न थालेका हौं,’ सिर्जनशील क्लबका अध्यक्ष सागर थापाले भने ।

अध्यक्ष थापाका अनुसार मोबाइल रक्तदान कार्यक्रम आयोजना गर्न उनीहरुले संयोजक तोकेर युवा सदस्यहरु गाउँ–गाउँ परिचालन गर्ने गर्दछन् । तोकिएका संयोजकहरुले स्थानीयहरुलाई परामर्श गरेर रगतको महत्व बुझाउँदै रक्तदान गर्न तयार गराउने गर्दछन् । त्यसपछि उनीहरु गाउँमा पुगेर रक्तदान गराएर रगत संकलन गर्ने गर्दछन् ।

रक्तदान गर्दा उनीहरुलाई आग्रहअनुसार कहिले रेडक्रसले त कहिले विराट मेडिकल कलेजले एम्बुलेन्स, स्वास्थ्य प्राविधिकहरु सहयोग गर्ने गरेको छ ।

महामारीको बेलामा पनि एक महिनादेखि दुई वा तीन दिन विराएर निरन्तर मोबाइल रक्तदान कार्यक्रम आयोजना गरिरहेको कार्यक्रम संयोजक अन्जन बस्नेतले बताए । उनका अनुसार त्योभन्दा पहिले उनीहरुले चार सयजति रक्तदाताहरुको सूची तयार गरेर आवश्यकताअनुसार रेडक्रस वा अस्पतालमै बोलाएर रगत दिलाउने गरेका थिए ।

कोरोना महामारीले गर्दा रक्तदान कार्य ठप्पजस्तै छ । यसैले रेडक्रसमा पनि भण्डारण भएको रगत सकिँदै गएको छ । फ्रेस ब्लड दिने दाताहरु पनि भन्नेब्त्तििकै आइपुग्ने अवस्था छैन । यसैले सिर्जनशील हातेमालो क्लबका युवाहरुले गाउँ–गाउँमा पुगेर थालेको मोबाइल रक्तदान कार्यक्रमले विरामीको जीवन बचाउन धेरै सहयोग पु¥याइरहेको बुढीगंगाका स्थानीय समाजसेवी कपिल सुनारले बताए ।

सिर्जनशील युवा समाजका उपाध्यक्ष जोसेफ घिमिरेले महामारीको बेला अस्पतालमा आउने बिरामीको ज्यान बचाउनका लागि मात्र नभई आवश्यक रगत भण्डारण गर्न पनि अति आवश्यक हुने भएकाले आफूहरुले गाउँ–गाउँमा मोवाइल रक्तदान कार्यक्रम थालेको बताए । उनले आफूहरुको अभियानमा साथ दिनेहरुलाई मोबाइल नम्बर ९८४९५८२७७९ र ७८०७३४६६६३७ नम्बरमा सूचना दिन पनि अनुरोध गरेका छन् ।