एम्बुलेन्स दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

विराटनगर, १४ भदौ । स्याङ्जाको वालिङ् नगरपालिका —५ स्थित चापाकोटको भित्री सडक खण्डमा भएको एम्बुलेन्स दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।

महिलासहित दुुई जना घाइते भएका छन् । दुर्घटनामा परेर ज्यान गुमाउनेमा चापाकोट— १० का २५ वर्षीय श्याम पंगेनी र चापाकोट—९ का ३५ वर्षीय भानुभक्त गैह्रे रहेको प्रहरीले जनाएको छ । दुवै जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङ्मा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा ३२ वर्षीया पवित्रा गैह्रे र ३१ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि पोखरा पठाइएको छ।

कठमाडौंबाट चापाकोट नगरपालिका जाँदै गरेको बा २ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको प्रहरीले जनाएको छ । काठमाडौंमा बिरामी छोडेर चापाकोटकी गर्भवती महिलालाई घर लिएर फर्केको एम्बुलेन्स दुर्घटना भएको प्रहरीको भनाइ छ ।

एम्बुलेन्स सडकबाट अन्दाजी दुई सय ५० मिटर तल खसे पनि दुर्घटनाको कारण पत्ता नलागेकाले घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Loading...