कोरोनाले ललितपुर र सप्तरीमा दुईजनाको मृत्यु

विराटनगर, १४ भदौ । कोरोना भाइरस संक्रमणका कारण ललितपुर र सप्तरीमा एक महिलासहित दुई जनाको मृत्यु भएको छ ।

ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेका कोरोना स‌ंक्रमित १९ वर्षीय पुरुषको शनिबार राति १० बजे मृत्यु भएको छ । ललीतपुरकै पुरुषलाई कोरोना देखिएपछि उपचारका लागि साउन २८ गते अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै राजविराज नगरपालिका वडा नम्बर–२ तेतरीगाछीकी कोरोना संक्रमित ६५ वर्षीया वृद्धा महिलाको उपचारका क्रममा मृत्यु भएको छ । उनलाई गत शुक्रबार गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो ।

स्वाब संकलन गरेर परीक्षण गराउँदा शनिबार उनको रिपोर्ट पोजेटिभ आएको हो । रिपोर्ट पोजेटिभ आएको केहीबेरमै थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो । धरानतर्फ लग्ने क्रममा उनको बाटोमै मृत्यु भएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिए ।

Loading...