सानकुमारीलाई अस्पताल डुलाउँदा डुलाउँदै रात बित्यो, उज्यालो नहुँदै मृत्यु

विराटनगर, १३ भदौ । मोरङ पथरीशनिश्चरे नगरपालिका– २ की ६२ वर्षीय सानकुमारी राईको एक्कासी पिसाब बन्द भएपछि आफन्तले उपचारका लागि पथरीमा रहेको मोरङ डाइग्नोष्टिक सेन्टरमा पुर्याए ।

बुधबार राति करिब ८ बजे पुगेकी उनको अवस्था जटिल भन्दै अस्पतालले बिएण्डसी अस्पताल बिर्तामोड रेफर गर्याे । तर बिएण्डसीले भर्ना लिन मानेनन् । अस्पतालले गेटबाटै फर्काएपछि आफन्तको विराटनगर ल्याए ।

पिसाब रोकिएका कारण स्वास्थ्य अवस्था गम्भिर बन्दै थियो । विराटनगरका निजी अस्पतालले पनि भर्ना गर्न मानेनन् ।

मध्यरातमा उपचारका लागि विराट मेडिकल कलेज, विराट नर्सिङहोम, गोल्डेन अस्पताल पुगे । ती अस्पतालले गेटबाटै फर्काए । नोबेलको इमरजेन्सी बन्द भन्दै जान दिएनन् । उपचार पाउने आसमा आउँदा सानकुमारीका लागि निजी अस्पतालको गेट बन्द भए ।

बुधबार राती ८ बजेबाट अस्पताल डुलाउँदै बिहीबार बिहान कोशी अस्पतालमा पुर्याए । तर ४ बजे विहान काेशी पुगेकी सानकुमारीलाई कोशीले भर्ना गर्न मानेन् । सामान्य अवस्थामा एम्बुलेन्समा चढेकी सानकुमारीको अवस्था नाजुक भइसकेकाे थियाे । आफन्तले अनुरोध गरेपछि मृत्यु भए जिम्मेवार नहुने भन्दै अस्पतालका कर्मचारीले एम्बुलेन्सबाट निकालेर आइसोलेसनमा राखे । आइसोलेसनमा राखेको आधा घण्टा नबित्दै उनको मृत्यु भयो ।

‘रातभरी अस्पताल डुलायौं तर कतै भर्ना गर्न मानेनन् ।’ छोरी मेनुका राईले काेशी अनलाइनसँग भनिन् ‘कोशी अस्पताल पुग्दा बिहान भइसकेको थियो ।’

एक्कासी पीसाब रोकिएपछि मोरङ डाइग्नोष्टिक सेन्टर पथरीका चिकित्सकले मृगौलामा समस्या भन्दै विर्तामोड पठाएको थियाे । तर बिर्तामोडले भर्ना नलिएपछि डुलाउँदा डुलाउँदै मृत्यु भएको स्थानीय दीपक राईले बताए ।

‘कुनै अस्पतालले भर्ना लिन मानेनन् ।’ उनले भने ‘ कोशीमा पुग्ने बितिकै मृत्यु भयो । कोरोना जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि ११ बजे शव जिम्मा दिए ।’

कोरोना संक्रमण जोखिमकाे बहानमा कारण निजी अस्पतालले लापरवाही गर्दा मृत्युवरण गर्ने सानकुमारी पहिलो होइन् । ६ भदौमा सुनसरीको कोशी गाउँपालिका–२ का अध्यक्ष हिरालाल यादवको पनि अस्पताल डुलाउँदा डुलाउदै मृत्यु भएको थियो ।

साउन ९ गते उदयपुरबाट उपचारका लागि आएका २३ वर्षिय पदम राईको एम्बुलेन्समा मृत्यु भएको थियो ।

Loading...