मुद्दा विचाराधिन रहेकै बेला मोरङ कारागारका बन्दीको मृत्यु

विराटनगर, १३ भदौ । अदालतमा मुद्दा विचाराधिन अवस्थामा रहेकै बेला जिल्ला कारागार मोरङभित्र रहेका एक युवाको मृत्यु भएको छ ।

कारागारमा बन्दी जीवन बिताइरहेका मोरङको सुन्दरहरैंचा नगरपालिका–४ का २६ वर्षीय फूर्वासिंह तामाङको शनिबार बिहान ४ः४५ बजेतिर मृत्यु भएको हो । उनी चोरी मुद्दामा २०७६ साल फागुन २२ गते जिल्ला अदालत मोरङको आदेशबाट पूर्पक्षका लागि थुनामा पठाइएका युवा हुन् ।

अदालतमा मुद्दा विचाराधिन रहेको र मुद्दाको अन्तिम टुँगो लाग्न बाँकी रहेकै अवस्थामा कारागारका बन्दी तामाङको मृत्यु भएको हो । एक्कासि पेट दुखेर श्वासप्रश्वासमा समस्या भएपछि उनलाई बिहान १ बजेतिर उपचारका लागि कोशी अस्पताल पु¥याइएको कारागारका जेलर सुवास लामिछाने बताए ।

उपचारकै क्रममा उनको मृत्यु भएको हो । ‘उपचारका लागि अस्पताल लगिए पनि कोरोनाको आशंका गर्दै चिकित्सकले तत्काल उपचार गर्न नमानेको पाइयो,’ लामिछानेले भने, ‘बन्दी युवामा कोरोनासँग मिल्ने लक्षण नभएको भनेर धेरै आग्रह गरेपछि मात्रै उपचार थालियो ।’ अस्पताल लैजानसाथ तत्काल उपचार पाउन सकेको भए युवाको ज्यान जानबाट जोगिन सक्ने कारागारको दाबी छ ।

तामाङलाई पहिले स्वास्थ्य सम्बन्धी कुनै समस्या रहेको कुरा जानकारीमा नभएको जेलर लामिछानेले बताए । शव परिवारका सदस्य र आफन्तलाई बुझाउने तयारी भइरहेको बताउँदै उनले शवको पोस्टमार्टम गर्न आवश्यक नदेखिएको जानकारी दिए ।

गत बुधबार कारागारमै कैद सजाय भुक्तान गरिरहेका विराटनगर महानगरपालिका–४ घर भएका २६ वर्षीय निराजन यादवको पनि मृत्यु भएको थियो । स्वास्थ्यमा समस्या भएपछि उनलाई पनि उपचारका लागि कोशी अस्पताल लगिएको थियो ।

कोरोनाको आशंकामा स्वाबको पीसीआर परीक्षण गर्दा ती युवाको रिपोर्ट नेगेटिभ आयो । आफन्त र परिवारका सदस्यले घटना शंकास्पद रहेको तथा कारागारभित्र दिइने यातनाका कारण मृत्यु भएको बताएपछि यादवको शवको भने पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टम रिपोर्ट भने आइसकेको छैन । कारागार प्रशासन र प्रहरीबाट उक्त घटनाको आआफ्नै हिसाबले अनुसन्धान भइरहेको छ ।

लागुऔषध मुद्दामा मोरङ अदालतले २०७६ फागुन ११ गते गरेको नौ महिना १९ दिन कैद र ७८ हजार रुपैयाँ जरिवानाको फैसला अनुसार यादव कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए ।

Loading...