Rumpum

Rumpum Advertisement

मोटोपनाले कोभिड-१९ को जोखिम बढाउँछ : अध्ययन

मोटोपनाले कोभिड-१९ को जोखिम बढाउँछ : अध्ययन

एजेन्सी, १२ भदौ । मोटोपनले कोभिड १९ बाट अस्पतालमा हुने उपचारको जोखिमलाई दोब्बर बनाउने तथा मृत्यु हुने जोखिम करिब ५० प्रतिशतले वृद्धि गर्ने एक विश्वव्यापी अनुसन्धानले देखाएको छ ।

अमेरिकी अनुसन्धानकर्ताहरूका अनुसार मोटोपनाले अन्य रोगहरू जस्तै मधुमेह र उच्च रक्तचापको जोखिम बढाउँछ ।

कमजोर प्रतीरक्षा प्रणालीको साथ मोटोपना भएका व्यक्तिहरूलाई गम्भीर कोभिड-१९ ले बढी जोखिममा पार्न सक्छ ।

साथै, कोरोना भाइरसविरुद्धको खोप मोटोपना भएको व्यक्तिहरूमा कम प्रभावकारी हुनसक्ने चेतावनी पनि दिएका छन् ।

नर्थ क्यारोलिना विश्वविद्यालयको एक टोलीले अनुसन्धानका लागि विश्वभरि रहेका ७५ वटा अध्ययनमा ४ लाख बिरामीको डाटा अध्ययन गरेको छ ।

जसबाट मोटोपना र कोभिड १९ संक्रमण भएका व्यक्तिहरू दुई गुणा अस्पतालमा भर्ना हुने सम्भावना रहने र ७४ प्रतिशतलाई आइसियुमा भर्ना गर्नुपर्ने तथा मृत्यु हुने बढी सम्भावना रहने पत्ता लागेकाे थियो ।

नर्थ क्यारोलिना विश्वविद्यालयको पोषण विभागको अध्ययनको नेतृत्व गर्ने प्रोफेसर ब्यारी पपकिनले मोटोपनाका कारण हुने कोभिड-१९ को जोखिम अपेक्षा गरेभन्दा बढी हुने बताएका छन् ।

उनका अनुसार मोटोपना धेरै रोगहरूसँग जोडिएको छ, जसकारण यसले मानिसहरूलाई कोभिड-१९ बाट संक्रमित हुने बढी जोखिममा पार्छ ।

मोटोपनाका कारण शरीर अधिक सुन्निने, संक्रमणबाट लड्न शरीरको प्रतिरक्षा क्षमता कम हुने र अन्य अंगहरूमा तथा सास फेर्न पनि प्रेसर पर्न सक्छ ।

खोप मोटोपना भएका उच्च प्रतिशतका जनसंख्यामा कम प्रभावकारी हुने चिन्ता हुनसक्ने हुँदा प्रोफेसर पोपकिनले खोप अनुसन्धानकर्ताहरूले मोटो व्यक्तिहरूलाई खोपले कसरी प्रभाव पार्छ भनेर हेर्नुपर्ने बताएका छन् ।