बच्चाहरूमा कोभिड–१९ को गम्भीर संक्रमण र मृत्यु दुर्लभ

एजेन्सी, १२ भदौ । बच्चाहरूमा कोभिड–१९ को गम्भीर संक्रमण र मृत्यु दुर्लभ हुने बेलायतको एक अनुसन्धानले देखाएको छ ।

बच्चाहरूमा कोरोना भाइरसको प्रभावको बारेमा गरिएको अध्ययनमा अन्यको तुलनामा बालबालिका तथा किशोरीहरूमा गम्भीर कोरोना संक्रमण बिरलै देखिएको र कोरोनाबाट हुने मृत्यु अझ दुर्लभ हुने उल्लेख गरिएको छ ।

बीएमजे मेडिकल जर्नल अनुसन्धानमा बेलायतका १ सय ३८ अस्पतालमा भर्ना भएका १९ वर्षभन्दा कम उमेरका ६ सय ५१ बच्चाहरूको अध्ययन गरिएको थियो ।

तीमध्ये एक प्रतिशतभन्दा कम वा ६ जना बालबालिकाको मात्रै मृत्यु भएको अनुसन्धानले देखाएको छ । मृत्यु भएकाहरू पनि पहिले नै कुनै गम्भीर रोगबाट ग्रस्त भएको बताइएको छ ।

अनुसन्धानमा संलग्न बेलायतस्थित युनिभर्सिटी अफ लिभरपुलका प्राध्यापक माल्कोम सेम्पल कोभिड १९ ले बालबालिकालाई खासै हानी नपुर्‍याएको निश्चित रूपमा भन्न सक्ने बताउँछन् ।

अनुसन्धानले कोभिड–१९ ले गम्भीर संक्रमण गर्ने सम्भावना न्यून न अझ यसबाट मृत्यु हुने सम्भावना झनै कम रहेको हुँदा अभिभावकले आफ्ना सन्तानलाई पुनः विद्यालय पठाउन विचलित हुनु नपर्ने उनको भनाइ छ ।

विश्वमा कोरोना भाइरसले १ देखि २ प्रतिशत मात्रै बालबालिका तथा किशोरहरूलाई प्रभाव पारेको छ । संक्रमण देखिएका बालबालिकामा पनि हल्का लक्षण देखिएको छ भने कसैमा कुनै लक्षण नै देखिएको छैन ।

Loading...