‘नेपाल आइडल ३’ को ग्रान्ड फिनाले आज, को बन्ला विजेता ?

विराटनगर, १२ भदौ । नेपाल आइडल तेस्रो सिजनको ग्रान्ड फिनाले आज हुने भएको छ ।

आज शुक्रबार राति ८ बजेदेखि सुरु हुने गायन रियालिटी सो नेपाल आइडल ३ को ग्रान्ड फिनाले महामारीका कारण थापाथलीको नेपाल आइडलको स्टुडियोमा आयोजना हुने भएको छ ।

आजको प्रत्यक्ष प्रसारण एपीवान इचडी टेलिभिजन र नेपाल आइडल आधिकारिक युट्युब च्यानलमा उपलब्ध हुने छ । विभिन्न चारणहरू पार गर्दै उत्कृष्ट ३ मा पुगेकामध्येबाट जनताको भोटको आधारमा विजेता घोषणा गरिने छ ।

प्रतिस्पर्धाको उत्कृष्ट ३ मा प्रवीण बेडुवाल, सज्जा चौलागाईं र किरणकुमार भुजेल पुगेका छन् ।

विजेताले ‘नेपाल आइडल–३ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यसैगरी फर्स्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद पुरस्कार प्राप्त गर्ने छन् ।

नेपाल आइडलले कोरोना भाइरसको फैलावट कम गर्न आवश्यक सबै सावधानी अपनाएको जानकारी दिएको छ ।

महामारीको कारणले यस सिजनका लागि प्रत्यक्ष कार्यक्रममा कुनै श्रोतालाई उपस्थित हुन अनुमति दिइएको छैन ।

Loading...