मेस्सीलाई पीएसजी आउन नेयमारको आग्रह

एजेन्सी, १२ भदौ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड नेयमारले पूर्वसहकर्मी लियोनल मेस्सीसँग फोन संवाद गरेका छन् ।

ब्राजिलियन स्टार नेयमारले बार्सिलोना छोड्ने मनसाय बनाएका अर्जेन्टिनी स्टार मेस्सीसँग पीएसजी आउने सम्भाव्यवताका बारेमा कुरा गरेको ‘ईएसपीएन’ले जनाएको छ ।

ईएसपीएनले स्रोतलाई उदृत गर्दै बार्सिलोनाका पूर्वस्टार नेयमारले बिहीबार मेस्सीलाई पीएसजी आउन आग्रहसमेत गरेको दाबी गरेको छ ।

३३ वर्षीय मेस्सीले मंगलबार बार्सिलोनाको अफिसमा फ्याक्स गर्दै क्याप नोउबाट निरन्तरता नदिने जनाएका थिए ।

सर्वाधिक धेरै छ पटकका बालोन डी‘ओर विजेता मेस्सीले सो फ्याक्समार्फत यसै समरमा क्लब छोड्ने वातावरण मिलाइदिन बोर्डसँग आग्रह गरेका थिए ।

पछिल्लो पटक अध्यक्ष बोर्टोमेउ, नयाँ प्रशिक्षक रोनाल्ड कोइम्यान र जर्मन क्लब बायर्नसँगको लज्जास्पद हारका कारणले बार्सिलोना छोड्न चाहेको बताइन्छ । उनले क्लब छोड्ने मनसाय बनाएको यो तेस्रो पटक हो ।

यसअघि सन् पनि २०१४ र २०१६ मा गरी दुई पटक क्लब छोड्ने निर्णय गरेका थिए ।
सन् २०१४ मा खराब सिजन भएका कारण र २०१६ मा करको समस्याका कारणले उनले क्याप नोउ छोड्ने मनसाय बनाएका थिए । तर, उनले दुवै पटक क्लब छोडेनन् ।

तेस्रो पटक क्लब छोड्ने मनसाय बनाएका मेस्सीलाई अनुबन्ध गर्ने दौडमा इंग्लिस क्लब म्यानचेस्टर सिटी सबैभन्दा अगाडि देखिएको छ । यस्तै फ्रेन्च च्याम्पियन पीएसजी र इटालियन क्लब इन्टर मिलान पनि उनलाई भित्र्याउने दौडमा रहेको बताइन्छ ।

यस्तैमा नेयमारले पूर्वटिममेट मेस्सीसँग पुनः एकसाथ खेल्ने लक्ष्यका साथ उनलाई पीएसजी आउन आग्रह गरेका हुन् । सन् २०१७ मा कीर्तिमानी मूल्य २२२ मिलियन युरोमा बार्सिलोना छोडेर फ्रान्सको राजधानी पेरिस आएका उनले मेस्सीलाई पीएसजी आउन आग्रह गरेको खबरमा उल्लेख गरिएको छ ।

आर्थिक रूपले हेर्दा पीएसजीलाई मेस्सी अनुबन्ध गर्न कठिन पर्ने देखिएको छ । यस सिजन खेलाडीका लागि धेरै खर्च गरिसकेका कारण पीएसजीले मेस्सी खरिद गर्न कठिन छ । उसले अघिल्लो वर्षयता खेलाडीमा धेरै खर्च गरिसकेको छ ।

नेयमार र किलियन एम्बाप्पे क्लब आएयता नै उसले ठूलो रकममा खेलाडी भित्र्याएको छैन । पीएसजीले विश्वकै महँगा खेलाडी नेयमार र विश्वकप विजेता एम्बाप्पेको पेरिफेरिमा रहेर टोली निर्माण गरिरहेको छ ।

अब उसले एक राइट ब्याक, एक सेन्टर ब्याक र एक मिडफिल्डर भित्र्याउने लक्ष्य लिएको बताइएको छ । पीएसजीले यसै सिजन मात्र ५० मिलियन युरो माउरो इकार्डीका लागि खर्च गरेको थियो ।

कोरोना महामारीका कारण आर्थिक अभाव हुने डरले अरु खेलाडीमा रकम खर्च गर्नसक्ने अवस्था नरहेपनि असम्भव भने नरहेको स्रोतलाई उदृत गर्दै ईएसपीएनले लेखेको छ ।

Loading...