विराटनगरकाे न्यूरोमा लेभल थ्रीको छुट्टै कोरोना अस्पताल

पीसीआर मेसिन सञ्चालन गरिने

विराटनगर, १२ भदौ । विराटनगरको न्यूरो–कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालले छुट्टै कोरोना अस्पताल सञ्चालनमा ल्याएको छ । अस्पतालले भेन्टिलेटरसहितको लेभल थ्रीकाे कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो ।

विराटनगर–९ महेन्द्र चौकमा रहेको न्यूरोको शाखा मदर एण्ड चाइल्ड अस्पताललाई कोभिड अस्पताल बनाएर सञ्चालनमा ल्याएको न्यूरो अस्पतालका अपरेशन डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए ।

अस्पतालमा ५१ बेड राखिएको छ । जसमा ४२ वटा बेड जनरल, ७ वटा आईसीयू र दुई वटा भेण्टिलेटर बेड सञ्चालन गरेकाे हाे ।

न्यूरोले कोभिड अस्पताल सञ्चालनमा ल्याएसँगै विराटनगरमा निजीस्तरबाट कोरोना संक्रमितको उपचार गर्ने अस्पतालको संख्या दुई पुगेको छ ।

यसअघि विराट मेडिकल कलेजले आइसोलेशन सञ्चालनमा ल्याएको थियो । न्यूरोको सुविधासम्पन्न कोरोना अस्पताल बिहीबार सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्घाटन गरेका थिए ।

पीसीरआर जाँचको तयारी, संक्रमितको शल्यक्रिया पनि गरिने

न्यूरो अस्पतालमा पीसीआर मेसिन सञ्चालनको तयारी भइरहेको अपरेशनल डाइरेक्टर भट्टराईले बताए ।

केही दिनभित्र पीसीआर मेसिन जडान हुने बताउँदै उनले मेसिन जडानपछि संक्रमितको शल्यक्रियाको सेवा सञ्चालन गरिने बताए ।

‘मेसिन जडानपछि संक्रमितको शल्यक्रिया सेवा पनि गर्छाैं,’ उनले भने, ‘केही दिनभित्र पीसीआर मेसिन जडान हुनेछ ।’

Loading...