Rumpum Advertisement

खोपका लागि आठ दक्षिण अमेरिकी देश एकसाथ काम गर्दै

खोपका लागि आठ दक्षिण अमेरिकी देश एकसाथ काम गर्दै

एजेन्सी, १२ भदौ । कोरोना भाइरस खोप बनाउनका लागि आठ दक्षिण अमेरिकी देशमा आपसी सहमति भएको छ ।

चिलीका विदेशमन्त्री आन्द्रे एलामन्डले यसबारे जानकारी दिँदै खोपका लागि समन्वयसहित काम गर्नुका थुप्रै फाइदा रहेको बताएका छन् ।

खोपको आवश्यक संख्या र कम मूल्यमा खोप पाउनका लागि समन्वय गरी एकसाथ काम गर्नुका फाइदाहरू धेरै हुने उनको भनाइ छ ।

समूहमा चिली, अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, पराग्वे, पेरु, इक्वाडोर र गुयाना समावेश छन् । सबै देशले आफ्ना नागरिकलाई पहिलो र सस्तो मूल्यमा खोप उप्लब्ध गराउने कोसिस गरिरहेका छन् ।

बेलायती औषधि कम्पनी एस्ट्राजेनिकाको कोरोना खोपको उत्पादन अर्जेन्टिना, मेक्सिको वा ब्राजिलमा गर्ने कुरा भइरहेको एलामन्डले बताए ।

बीबीसीले जनाएअनुसार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार संसारभरि बनिरहेका १ सय ५० खोपमध्ये २५ वटाको ह्यूमन ट्रायल सुरु भइसकेको छ ।

जोनसन एण्ड जोनसन, सिनोभ्याक र एस्ट्राजेनिकाको क्लिनिकल ट्रायल ल्याटिन अमेरिकामा सुरु भइसकेका छन् वा चाँडै नै सुरु हुने बताइएको छ ।