पाकिस्तानमा सवारी दुर्घटना, चार फुटबल खेलाडीको निधन

एजेन्सी, १२ भदौ । पाकिस्तानमा सवारी दुर्घटनामा परी चार फुटबल खेलाडीको निधन भएको छ । पाकिस्तानी मिडिया ‘डावन’का अनुसार सडक दुर्घटनामा परी पाकिस्तानका चार जना स्थानीय खेलाडीको निधन भएको हो ।

मंगलबार क्वेटा–कराँची राष्ट्रिय राजमार्गअन्तर्गत मास्टुङ जिल्लामा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । यस्तै दुई जना गम्भीर घाइते भएकोमा एक जनाका निधन भएको खबरमा जनाइएको छ ।

फुटबल प्रतियोगितामा भाग लिन जानेक्रममा उनीहरू चडेको कार विपरीत दिशाबाट आउँदै गरेको ट्रकसँग ठोक्किएको हो । सो दुर्घटनामा अब्दुल माजिद, मोहमद आमिर, नूर मोहमद र अब्दुल मलिकको निधन भएको बताइएको छ ।

मोहमद वासिम गम्भीर घाइते भएका छन् । उनको मास्टुङस्थित नवाव घोस बख्स रैसानी मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

Loading...