अकबरेमा नयाँ रोग, किसान चिन्तित

इलाम, १२ भदाै । रोगले अकबरे (खुर्सानी) सखाप भएपछि किसान चिन्तित बनेका छन् ।

व्यावसायिक खेतीमा लागेका किसानको अकबरे रोगले सखाप बनाएपछि उत्पादन घटेको छ ।

अकबरेको डाँठ कुहिने र बोट ओइलाउँदै जाने एउटा रोग देखिएको छ भने अर्को अकबरेको जरा ओइलाउने र एक्कासी कुहिने रोग देखिएको हो ।

यस वर्ष रोगले अकबरेबाट आम्दानी आधा हुने इलाम नगरपालिकाका अकबरे किसान डिल्ली चापागाईंको भनाइ छ ।

गएको वर्ष अकबरेबाट रु डेढ लाख कमाइ भएकामा यस वर्ष रु ५० हजार मात्र हुने उनको अनुमान छ । उनले भने, “डाँठ कालो भएर कुहिने रोगले सबै सखाप पारेको छ । बढी पानी र हुस्से परेकाले होला उत्पादन ह्वात्तै घटेको छ ।”

गएको वर्ष एक हजार बिरुवा लगाएकामा करिब डेढ-दुई सय बिरुवाले मात्र उत्पादन दिँदै गरेको चपागाईंको भनाइ छ ।

किसानले मौसम बदली भएर अकबरे मासिएको भने पनि प्राविधिक र विज्ञले भने नयाँ रोग भित्रिएको बताएका छन् ।

गत फागुनमा ८०० बिरुवा अकबरे खेती गर्नुभएका सूर्योदय नगरपालिका–९ का किसान एवं प्राविधिक खेमराज भट्टराईले सबै बोट कुहिएको दुखेसो सुनाए ।

रोगले अकबरे सखाप भएपछि अकबरे लगाएको बारीमा फूलगोभी खेती गरिएको भट्टराईको भनाइ छ ।

“फेद कुहिने रोगले अकबरे सबै सकियो”, भट्टराईले भने,“ गएको वर्षसम्म खासै रोग थिएन यस वर्ष एकैचोटि रोग देखियो ।”

पराम्परागत विधि अपनाएर खेती गरेकाले नयाँ रोगले आक्रमण गरेको भट्टराईको भनाइ छ ।

Loading...