मेस्सीले छोड्ने तयारी गरेको यो चौथो पटक

एजेन्सी, १२ भदौ । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पछिल्लो समय फेरि एक पटक क्लब छोड्ने मनसाय बनाएका छन् । ३३ वर्षीय मेस्सीले मंगलबार बार्सिलोनाको अफिसमा फ्याक्स गर्दै क्याप नोउबाट निरन्तरता नदिने बताएका थिए ।

सर्वाधिक धेरै छ पटकका बालोन डी‘ओर विजेता मेस्सीले यसै समरमा क्लब छोड्ने वातावरण मिलाइदिन बोर्डसँग आग्रह गरेका थिए ।

पछिल्लो पटक अध्यक्ष बोर्टोमेउ, नयाँ प्रशिक्षक रोनाल्ड कोइम्यान र जर्मन क्लब बायर्नसँगको लज्जास्पद हारका कारणले बार्सिलोना छोड्न चाहेको बताइन्छ ।

मेस्सीले यसअघि पनि बार्सिलोना तथा राष्ट्रिय टोली छोड्ने घोषणा गरेका थिए । उनले सन् २०१६ मा त राष्ट्रिय टोलीबाट सन्यासको घोषणा नै गरेका थिए । त्यसबाहेक क्लबबाट पनि २०१४ र २०१६ मा गरी दुई पटक क्लब छोड्ने निर्णय गरेका थिए ।

सन् २०१४ मा खराब सिजन भएका कारण र २०१६ मा करको समस्याका कारणले उनले क्याप नोउ छोड्ने मनसाय बनाएका थिए । तर, उनले दुवै पटक छोडेनन् ।

यता, राष्ट्रिय टोलीबाट लिएको सन्यास पनि फिर्ता गर्ने मनसाय बनाए र अर्जेन्टिनाबाट खेलिरहेका छन् ।

२०१४ : खराब सिजन

२०१३–१४ को सिजन खराब रहेपछि बार्सिलोनाले प्रशिक्षक टाटा मार्टिनोलाई बर्खास्त गरेको थियो । सो सिजन मेस्सीका लागि खराब रह्यो । कोपा डेल रेमा क्रिस्टियानो रोनाल्डो सम्मेलित रियल मड्रिडसँग पराजित भयो । यस्तै ला लिगाको उपाधि एथ्लेटिको मड्रिडलाई सुम्पियो र च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा एथ्लेटिकोसँगै पराजित भयो ।

सिजनको अन्त्य हुनुभन्दा एक साताअघि नै मेस्सीले क्लब छोड्ने मनसाय बनाएका थिए । तर, पछि उनले आफ्नो मनसाय परिवर्तन गरेर पुनः बार्सिलोनाबाटै खेले ।

२०१६ : करको समस्या

सन् २०१५ को सेप्टेम्बरमा उनलाई स्पेनमा करसम्बन्धी समस्याले पिरोल्यो । कर अधिकारी र न्यायाधीशले मेस्सीलाई वित्तीय अपराधको लागि छानबिन गर्न आग्रह गरेका थिए । जसकारण, मेस्सीले आफूलाई सताएको महशुस गरे र छोड्ने मनसाय बनाए ।

अघिल्लो वर्ष ‘आरएसीवान’सँग बोल्दै मेस्सीले भनेका छन्, ‘त्यो समय मैले छोड्ने विचार गरेको थिएँ । मेरो चाहना बार्सिलोना छोड्ने थिएन, स्पेन छोड्ने थियो । किनकि, मलाई सो बेला दुर्व्यवहार भएको महशुस थियो ।’

करसम्बन्धी समस्या समाधान भएपछि उनले बार्सिलोना छोड्ने मूड त्यागिदिएका थिए ।

२०१६ : गूडबाई अर्जेन्टिना

सन् २०१६ को कोपा अमेरिकामा चिलीसँग पराजित भएपछि मेस्सीले राष्ट्रिय टोलीबाट सन्यास लिएका थिए ।

चिलीसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि मेस्सीले सन्यासको घोषणा गरे । तर, केही समयपछि उनी पुनः राष्ट्रिय ड्युटीमा फर्किए ।

Loading...