स्वास्थ्यको कारण देखाउँदै जापानी प्रधानमन्त्री आवेद्वारा राजीनामा घोषणा

एजेन्सी, १२ भदौ । जापानका प्रधानमन्त्री सिन्जो आवेले स्वास्थ्यको कारण देखाएँदै राजीनामा दिने घोषणा गरेका छन् ।

जापानको सरकारी प्रसारण संस्था एनएचकेले सम्प्रेषण गरेको समाचारमा उनले अस्वस्थताका कारण राजीनामा दिने मनस्थिति बनाएको बताइएको थियो ।

उनले आजै अपरान्ह पत्रकार सम्मेलन गरी आफूले पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

उनले आफू अस्वस्थ्य हुँदाहुदै पदमा बसिरहनु उपयुक्त नहुने ठानेर राजीनामा दिन लागेका बताएका थिए ।

आफ्नो स्वास्थ्य समस्या देशको समस्या बन्न नहुने र देश विकासको गतिमा बाधक बन्न नहुने उनको भनाई छ ।

पार्टीले प्रधानमन्त्रीको अर्काे उम्मेदवार नछान्दासम्म मात्र आफू पदमा बस्ने उनले बताए ।

नयाँ प्रधानमन्त्री छान्ने विषयमा उनको डेमोक्र्याटिक पार्टीले अर्काे हप्ता आवश्यक छलफल गरी निर्णय लिने बताइएको छ ।

उनको कार्यकाल आगामी सन् २०२१ को सेप्टेम्बरसम्म भएपनि उनले अहिले नै राजीनामा दिन लागेकाे समाचारमा जनाइएको छ ।

Loading...