Rumpum

Rumpum Advertisement

अभिषेकलाई भारतीय क्लबमा ११ नम्बरको जर्सी

अभिषेकलाई भारतीय क्लबमा ११ नम्बरको जर्सी

विराटनगर, १२ भदौ । भारतको दोस्रो डिभिजन लिग खेल्ने मोहम्मेदन स्पोर्टिङ क्लबमा आवद्ध भएका नेपाली राष्ट्रिय टोलीका फुटबलर अभिषेक रिजालले ११ नम्बरको जर्सी लगाउने पक्का भएको छ ।

केही दिनअघि उनी ११ नम्बरको जर्सी लगाएर प्रशिक्षणका लागि मैदानमा देखिएका थिए । मोहम्मेदन क्लबले मंगलबारबाट प्रशिक्षण थालेको हो ।

भारतीय फुटबल फेडेरेसनले कोरोनाको महामारीकाबीच रोकिएको लिग पुनः सुचारु गर्ने तयारी गरेको छ । मिति भने तय भैसकेको छैन ।

कोरोनाको कारण लिग स्थगित हुनुअघि मोहम्मेदनले ६ खेलबाट १२ अंक जोडेको छ । २ खेलमा पराजित मोहम्मेदन शीर्ष स्थानमा रहेको छ ।

अभिषेक गत बुधबार भारत गएका थिए । स्थलमार्ग हुँदै भारत गएका अभिषेक कोलकत्ताबाट प्लेनमा गएका थिए । अभिषेकले मोहम्मेदनसँग तीन वर्षको सम्झौता गरेका छन् ।

सम्झौता रकम भने खुलाइएको छैन । सम्झौताअनुसार क्लब शीर्ष डिभिजनमा उक्लिएको खण्डमा उनले सोही क्लबमा तीन वर्ष बिताउने छन् ।

क्लबको बढुवा नभएको खण्डमा भने क्लबले आवश्यकताअनुसार उनलाई रिलिज गर्ने बताइएको छ । सन् १८९१ मा स्थापित क्लब पहिलो पटक शीर्ष डिभिजनमा बढुवा हुने योजनामा रहेको छ । सोहीअनुसार उसले ठूलो लगानी गरेको छ ।