अवैध उत्खनन्मा प्रयोग गरिएको ट्याक्टर नियन्त्रण

विराटनगर, १२ भदौ । प्रहरीले मोरङको गछिया खोलाबाट अवैध उत्खनन्मा प्रयोग गरिएको एउटा ट्याक्टर शुक्रबार बिहान नियन्त्रणमा लिएको छ ।

सुन्दरहरैंचा नगरपालिका–७ स्थित गछिया खोलाबाट प्रहरीले को १ त ६९४९ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो । विशेष सूचनाका आधारमा प्रहरी चौकी गछियाबाट नायव निरीक्षक बलदेव सुवेदीको नेतृत्वमा खटिएको टोलीले बालुवा लोड गर्दै गरेको अवस्थामा ट्याक्टर फेला पारेको थियो ।

प्रहरी आएको देख्न साथ ट्याक्टर चालक र बालुवा लोड गर्दै गरेकाहरु फरार भएका थिए । प्रहरीले ट्याक्टर आवश्यक कारबाहीका लागि नगरपालिकाको जिम्मा लगाउने तयारी गरेको छ ।

असारदेखि भदौसम्म खोला तथा नदीबाट नदीजन्य वस्तु उत्खनन्मा रोक लगाइएको छ । तर पनि लुकिछिपी प्रहरीको आँखा छल्दै अवैध रुपमा उत्खनन् हुने गरेको छ ।

Loading...