मोरङको लक्ष्मीमार्गमा दलित बालिका बलात्कृत, सुरुमा आफन्त बालकहरु प्रयोग, आराेपी फरार


विराटनगर, १२ भदौ । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा एक दलित बालिकामाथि अनौठो हिसाबले बलात्कार गरिएको छ ।

१६ वर्षीया बालिकामाथि चिनजानकै ४० वर्षीय होम तामाङले हर्कत गरेका हुन् । बालिका मंगलबार दिउँसो ३ बजेतिर जंगलमा निगुरो टिप्न छिमेकमै रहेका नातामा आफन्त पर्ने ११, १२ र १३ वर्षका भाईहरुलाई लिएर गएकी थिइन् ।

प्रहरीका अनुसार नियन्त्रणमा लिएर बालकहरुलाई सुरुमा मैले जेजे भन्छु त्यही मान्नु नभए मारिदिन्छु भन्दै पालैपालो दलित बालिकामाथि बलात्कार गर्न लगाएको र त्यसपछि तामाङ आफूले पनि बलात्कार गरेको खुलेको छ । तीनै जना बालकहरु दलित समुदायकै हुन् ।

दलित बालिकामाथि भएको बलात्कारको घटनामा संलग्न ४० वर्षीय होम तामाङ ।

हातमा लाट्ठी र मुङ्ग्रो बोकेर निगुरो टिपिरहेको ठाउँमा पुगेका तामाङले सुरुमा चारै जनालाई नियन्त्रणमा लिएर अप्रत्यासित र अकल्पनीय घटना गराएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नियन्त्रणमा लिएपछि डर, धम्की र त्रास देखाउँदै तीन जना कलिला उमेरका बालकलाई नाता सम्बन्धकी बालिकामाथि बलात्कार गर्न लगाएर त्यसपछि आफूले पनि बलात्कार गरेको पाइएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए ।

मानिसको आवतजावत कम हुने एकान्त जंगलमा तामाङले बालकहरु बाध्य बनाएर घटना गरेको खुलेको छ । ‘बालकहरु र बालिकाले त्यसो नगर्न बारम्बार आग्रह गर्दा तामाङले धम्की दिएर त्रास देखाउँदै दुई घण्टाभन्दा बढी समय नियन्त्रणमा लिएर घटना गराएको देखिन्छ,’ घटनाको अनुसन्धान गरिरहेका एक प्रहरीले भने, ‘आफूमाथि धम्की आएपछि डरका कारण उनीहरु चुपचाप तामाङले गरेको कुकार्य सहन बाध्य भएछन् ।’ उनका अनुसार बालकहरुलाई प्रयोग गरिसकेपछि तामाङले उनीहरुकै अगाडि बालिकालाई बलात्कार गरेको खुलेको छ ।

बालिकाकै नाता सम्बन्धका कलिला बालकलाई बलात्कार गर्न लगाएर आफूले पनि गरेको यो अनौठो घटना भएको भन्दै प्रहरीले गम्भीर रुपमा अनुसन्धान अघि बढाएको छ । एक प्रहरीले बालिकामाथि बालकहरुलाई बलात्कार गर्न लगाएर तामाङले मोबाइलबाट भिडियोसमेत बनाएको खुलेको बताए । उनले बालकलाई प्रयोग गर्दा आफू घटनाबाट बच्ने भएकाले तामाङले त्यस्तो उपाय लगाएको हुन सक्ने बताए ।

दलित बालिकामाथि बलात्कार भएको भनिएको जंगल ।

घटनाबाट पीडित भएपछि उनीहरु निगुरोसमेत नलिइकन साँझमा घर फर्किएको बालिकाका एक आफन्तले बताए । ‘निगुरो नल्याइकन फर्किएपछि सोधीखोजी ग¥र्यौ,’ उनले भने, ‘तर उनीहरुले त्यतिबेला नभेटेर नल्याएको जवाफ दिए ।’ तर चारै जनाको व्यवहार भोलिपल्ट फरक रहेको पाइएपछि आफन्त र परिवारका सदस्यले सोधीखोजी गर्दा घटनाका बारेमा थाहा भएको उनको भनाइ छ ।

उनका अनुसार भोलिपल्ट बालबालिकाले मानसिक रुपमा विक्षिप्त व्यवहार देखाए । ‘सुरुमा बालकहरुलाई बलात्कार गर्न लगाएपछि ती नै बालकहरुलाई अगाडि राखेर तामाङले पनि बालिकालाई बलात्कार गरेछन्,’ उनले भने, ‘एकान्त जंगलको बीचमा घटना भएकाले उनीहरुले भाग्ने र बच्ने मौकै पाएनछन् ।’

तामाङले भोलिपल्ट पनि घरघरमा पुगेर सबैलाई भेट्दै घटनाका बारेमा कसैलाई नभन्न पुनः दबाब दिएको उनले बताए । घटनाका बारेमा थाहा भएपछि बालिकाका अभिभावक र आफन्तले इलाका प्रहरी कार्यालय बेलबारीमा तामाङविरुद्ध बुधबार किटानी जाहेरी दिएका छन् । प्रहरीले घटनाका बारेमा बालकहरुसँग पनि सोधपुछ गरिरहेको छ ।

प्रनि ढकालका अनुसार आफूहरुलाई दिदीमाथि जबरजस्ती बलात्कार गर्न बाध्य पारेको बालकहरुले बताएका छन् । ‘निच र घृणित घटनापछि डराएका चारै जना राम्ररी कोहीसँग बोल्न पनि रुचाउँदैनन्,’ उनले भने, ‘उनीहरु सबै जना मानसिक रुपमा विक्षिप्त जस्तो देखिन्छन् ।’ घटना बाहिरिएपछि बलात्कारमा संलग्न तामाङ फरार रहेकाले खोजी थालेर घटनाको गम्भीर ढंगले अनुसन्धान अघि बढाइएको जानकारी ढकालले दिए ।

भाईहरुलाई पनि गर्न लगाएर उनीहरुकै अगाडि आफूमाथि बलात्कार गरिएपछि बालिका मानसिक तनावमा छिन् । पहिलेदेखि नै बोलाउने, जिस्क्याउने र अनेक हिसाबले प्रलोभनमा पार्ने काम तामाङले गर्ने गरे पनि गाउँकै चिनजानका व्यक्ति भएकाले आफूले वास्ता नगरेको बालिकाले प्रहरीलाई बताएकी छन् । प्रकृति हेर्दा र अध्ययन गर्दा घटना योजनावद्ध रुपमै भएको देखिने प्रहरीले जनाएको छ । घटनाका बारेमा बालबालिकाले आआफ्ना अभिभावकलाई सुनाइसकेका छन् ।

शरीरका केही भागमा चोट रहेकी बालिकालाई उपचार र स्वास्थ्य परीक्षणका लागि प्रहरीले बिहीबार विराटनगरको कोशी अस्पताल ल्याएको थियो । स्थानीय विद्यालयको कक्षा ६ मा पढ्ने बालिका बाबु वैदेशिक रोजगारीका क्रममा कतारमा रहेपछि घरमा आमासहित १३ र ३ वर्षका भाईसँग बस्थिन् । पारिवारिक आर्थिक अवस्था कमजोर रहेको स्थानीयले बताए । बालिका र उनकी आमासँग बिहीबार विराटनगर जानेसमेत खर्च नभएपछि स्थानीयले उठाएर एक हजार पाँच सय रुपैयाँ दिएका थिए ।

तामाङलाई भने श्रीमतीले केही वर्ष अगाडि छाडिसकेको पाइएको छ । उनी भाई–बुहारीको घरमा बस्दै आएको खुलेको छ । ‘हाम्रोमा पनि कहिले काहीँ मात्रै आउने गर्नु हुन्थ्यो । अरु बेला कहाँ गएर के गर्नु हुन्छ हामीलाई थाहा भएन,’ उनकी बुहारीले भनिन्, ‘अस्ती (बुधबार) देखि घरमा आउनु भएको छैन । अहिले गाउँमा नराम्रो कुरा पनि सुन्दैछु ।’

Loading...