भदौभित्रै भारतबाट रेल

विराटनगर, १२ भदौ । जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतसँग खरिद गरिएको दुईवटा रेल यही भदौभित्र नेपाल आउँदैछ । नेपाल र भारतबीच जीटूजी प्रक्रियाबाट रेल खरिद गरिएको हो ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले भदौभित्र रेल नेपाल आइपुग्ने जानकारी दिए । कोरोना महामारीको सङ्क्रमण सामान्य नभएसम्म रेल सञ्चालनमा नआउने र समान्य भए भदौभित्रै रेल नेपाल आइपुुग्ने उनको भनाइ छ ।

अहिले भारतको विहारस्थित हाजिपुर स्टेसनमा राखिएको रेल कोरोना भाइरस सङ्क्रमणका कारण उत्पन्न अवरोधले नेपाल आउन केही ढिलाइ भएको हो ।

यसैबीच भारतीय प्राविधिक र आर्थिक सहयोगमा निर्माण भएको जनकपुर–जयनगर रेल्वे लिक भारतले नेपाललाई हस्तान्तरण गर्ने तयारी भइरहेको उनले जानकारी दिए । उनका अनुसार सके भदौभित्र नत्र असोजभित्र भारतले नेपाललाई सो ट्र्याक हस्तान्तरण गर्नेछ ।

मन्त्रिपरिषद्को दुई वर्षअघिको स्वीकृतिपछि रेल विभागले जीटूजी प्रक्रियाबाट भारतको कोकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा रेल किन्ने प्रक्रिया अगाडि बढाएको थियो । सो रकममध्ये २० प्रतिशत भुक्तानी भइसकेको छ भने बाँकी भुक्तानी रेलको परीक्षणपछि मात्र गरिने रेल्वे कम्पनीले जनाएको छ ।

रेल सेवा सञ्चाल गर्न आवश्यक प्राविधिक कर्मचारी तत्काल भारतबाट नै ल्याइने भएको छ । उक्त रेल सेवा सञ्चालनका लागि चालक दल, मर्मतसम्भार इन्जिनियर, सिग्नल प्रणालीका इन्जिनियर, स्टेसन सञ्चालनसम्बन्धी विज्ञ लगायतका प्राविधिक कर्मचारी भारतबाट ल्याइने बताउँदै महाप्रबन्धक भट्टराईले सोका लागि दुवै मुलुकबीच औपचारिक प्रक्रिया सुरु भइसकेको जानकारी दिए ।

संवत् १९९४ देखि सञ्चालनमा आएको जनकपुर–जयनगर रेल सेवा २०७१ सालदेखि जीर्ण भई बन्द भएको थियो । छ वर्षअघि साँघुरो लेन भएको उक्त रेल सेवा अब फराकिलो लेनमा सञ्चालन हुन लागेको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ

Loading...