उकालोतिर अपराध

विराटनगर, १२ भदौ । २०५९ देखि हालसम्म हत्या, अपहरण, गुन्डागर्दी, बलात्कारलगायत गम्भीर प्रकृतिका अपराधमा कमी आएको छैन। बरु अपराधको स्वरूप फेरिएको जानकार बताउँछन्।

आर्थिक एवं संगठित अपराध मौलाएको छ। आर्थिक अपराधमा पनि ठगी धेरै देखिन्छ। प्रहरीले २०६५ सालमा देशभर १ सय २१ वटा ठगीका घटनामा मुद्दा चलाएको थियो। त्यो संख्या २०७६ मा आइपुग्दा ६ सय ६८ पुगेको छ।

१२ वर्षयता अपराधको ग्राफ निकै बढेको देखिन्छ। २०६५ सालतिर देशभर प्रहरीले मुद्दा चलाएका कुल अपराध संख्या १४ हजार ४ सय १ थियो। २०७६÷७७ सम्म आइपुग्दा त्यो संख्या बढेर ४१ हजार ८ सय ९१ पुगेको छ। प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायत नेपाल प्रहरी उपलब्ध स्रोतसाधनकै भरमा अपराध अनुसन्धान र न्यूनीकरणमा सफल रहेको बताउँछन्।

‘हामीले कतिपय घटना ६ घण्टामै पनि पत्ता लगाएका छौं। कति घटना १२ वर्षपछि पनि पत्ता लगाएका छौं। रानीबारी हत्याकाण्ड १२ वर्षपछि पत्ता लाग्यो’, प्रवक्ता कडायत भन्छन्, ‘घटना यही बेला पत्ता लाग्छ भन्ने हुँदैन। त्यसमा लगाव र निरन्तरता उत्तिकै चाहिन्छ।’

उनका अनुसार अहिलेको चुनौती साइबर अपराध हो। ‘आत्महत्या र ठगी बढेको साँचो हो। आत्महत्या प्रहरीले चाहेर पनि रोक्न सक्दैन। कुन बेला कसैले थाहा नपाउने गरी व्यक्तिले आत्महत्या गर्छन्। अर्को ठगी’, उनी भन्छन्, ‘अहिले फेसबुक, इमो, भाइबरमार्फत ठगी भइरहेका छन्। ठगिने पीडितले पनि अन्तिममा आफू ठगिएको थाहा पाएपछि मात्रै प्रहरीमा उजुरी गर्छन्। त्यसबेलासम्म अपराधी उम्किन सक्छ। यसमा स्वयं चेतनशील हुनु जरुरी छ।’

प्रहरीको तथ्यांकअनुसार २०६५ सालको तुलनामा कर्तव्य ज्यान (मान्छे मार्ने) का घटना २०७६ सालमा कम देखिन्छ। २०६५ मा ८ सय ७५ वटा कर्तव्य ज्यानका घटना भएको प्रहरी अभिलेखले देखाउँछ। २०७६ मा भने ५ सय ५५ वटा घटना मात्र प्रहरीमा पुग्यो।

बलात्कारका घटना भने बढ्दो देखिन्छ। २०६५ सालमा ३ सय ९१ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भई मुद्दा चलेको देखिन्छ। त्यसपछि भने २०६६ मा ३ सय ७१, २०६७ मा ४ सय ८१, २०६८ मा ५ सय ५७, २०६९ मा ६ सय ७७, २०७० मा ९ सय ५, २०७१ मा ९ सय ८१, २०७२ मा १ हजार ९३ वटा प्रहरीमा पुगे। यस्तै, २०७३ मा १ हजार १ सय ३७, २०७४ मा १ हजार ४ सय ३८, २०७५ मा २ हजार २ सय ३० र २०७६ मा २ हजार १ सय ४४ वटा घटना भएको तथ्यांकले देखाउँछ।

नेपाल प्रहरीका पूर्वएआईजी बमबहादुर भण्डारी सशस्त्र द्वन्द्वयता व्यक्ति अपहरण, चन्दा असुली, फिरौती, चोरी तथा डकैती र लुटपाटका घटनामा वृद्धि भएको बताउँछन् । पहिला अपराध बढेपछि माथिल्लो तहबाटै निगरानी हुने बताउँदै उनले संगठित रूपमै मौलाएका अपराधमा पछिल्लो समय निगरानी कम हुने गरेको उल्लेख गरे । आजको अन्नपूर्ण पोस्टमा समाचार छ

Loading...