ग्रिजम्यानलाई ‘मुख्य खेलाडी’ बनाउने कोइम्यानको चाहना

एजेन्सी, १२ भदौ । बार्सिलोनाका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोइम्यानले फ्रेन्च स्टार एन्टोइन ग्रिजम्यानलाई क्लबको मुख्य खेलाडी बनाउन चाहेको बताइएको छ ।

कप्तान लियोनल मेस्सीले क्लब छोड्ने निर्णय लिएपछि कोइम्यानले विश्वकप विजेता ग्रिजम्यानलाई आफ्नो प्रोजेक्टको मुख्य हतियार बनाउने बताएका हुन् ।

अर्जेन्टिी स्टार मेस्सीले मंगलबार साँझ बार्सिलोनाको कार्यालयमा फ्याक्स पठाउँदै क्लब छोड्ने वातावरण मिलाइदिन अनुरोध गरेका थिए । त्यसपछि कोइम्यानले सन् २०१९ मा एथ्लेटिको मड्रिड छोडेर क्याप नोउ आएका फरवार्ड ग्रिजम्यानलाई मुख्य चाबीका रूपमा राखेर आफ्नो प्रोजेक्ट अगाडि बढाउने बताएका हुन् ।

ग्रिजम्यान बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले बनाएको क्याप नोउबाट ट्रान्सफर नहुने खेलाडीको सूचिमा पनि परेका छन् । कोइम्यानलाई उदृत गर्दै ‘एल इक्युपे’ले लेखेको छ, ‘एन्टोइनले एथ्लेटिकोमा जसरी प्रदर्शन गरेका थिए, उसैगरी बार्सिलोनामा पनि गर्नेछन् भन्ने आशाका साथ उनलाई मुख्य हतियार बनाइनेछ ।’

त्यसअघि बार्सिलोनामा नियुक्त भएर पहिलो प्रेस सम्मेलन गर्दा डच प्रशिक्षक कोइम्यानले २९ वर्षीय ग्रिजम्यान प्राकृतिक अवस्थामा फर्किने र एथ्लेटिको तथा फ्रान्समा गरेको जस्तै प्रदर्शन गर्न सक्ने बताएका थिए ।

अब, मेस्सीले क्लब छोड्ने बताएपछि झन् ग्रिजम्यान क्लबको महत्त्वपूर्ण खेलाडी भएको कोइम्यानको भनाइ छ ।

Loading...