Rumpum

Rumpum Advertisement

खोप परीक्षणमा नेपालको तयारी, छ खोप अन्तिम चरणमा

खोप परीक्षणमा नेपालको तयारी, छ खोप अन्तिम चरणमा

विराटनगर, १२ भदौ । विश्वलाई आतङ्कित बनाइरहेको कोरोना भाइरसको प्रकोप निमिट्यान्न पार्न विभिन्न मुलुकले यसविरुद्ध खोपको परीक्षण गरिरहेका छन् ।

यसरी विश्वव्यापी जनस्वास्थ्यलाई लिएर निर्माण गरिएको खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने प्रयासमा छ । यसरी खोपको परीक्षण नेपालमा हुन लागेको पहिलो पटक हो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूूएचओ)को सूचीमा रहेकामध्ये अन्तिम परीक्षण पार गर्दै गरेको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेना कम्पनीले उत्पादन गरेको सीएचएडीओएक्स १–५ खोप र चीनको साइनोभ्याक्स अर्थात् ‘इनएक्टिभेटेड’ नामको खोपको अन्तिम क्लिनिकल परीक्षणमा नेपाल पनि सहभागी हुने झण्डै तय जस्तै भएको छ । तथापि अन्तिम निक्र्योल हुन बाँकी छ ।

खोपको परीक्षण गर्न दिन हुने÷नहुने विषयमा थप अध्ययनका लागि स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई जिम्मेवारी दिएको प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए ।

मन्त्रालयका अनुसार तीन कम्पनीले नेपालमा खोप परीक्षणका लागि अनुमति मागेको हो । मन्त्रालयको स्वीकृतिलगत्तै परीक्षणको थप अध्ययन थालिएको परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले बताए । चीन, रसिया र अक्सफोर्ड युभिर्सिटीले तेस्रो चरणको क्लिनिकल परीक्षण गर्न अनुमति मागेको र परीक्षण के कसरी गर्ने भन्ने बारेमा अध्ययन भइरहेको उनले बताए ।

अक्सफोर्ड विश्वविद्यालयले उत्पादन गरेको खोपको परीक्षणमा सहभागी हुन चाहने देशको लाम पनि निकै लामो छ । यसरी अन्तिम परीक्षणमा सहभागी हुने मुलुकले भविष्यमा खोप तयार भएर आएपछि विभिन्न खालका सुविधा र सहुलियत पाउने अवस्था रहन्छ ।

डब्लूएचओका अनुसार परीक्षणको अन्तिम तथा तेस्रो चरणमा यतिबेला छवटा खोप पुगेको छ । पहिलो नम्बरमा अक्सफोर्ड युनिभर्सिटीको मातहत रहेर एस्ट्राजेनाका कम्पनीले निर्माण गरेको खोप छ ।

दोस्रोमा चीनको साइनोेभ्याक कम्पनीले उत्पादन गरेको खोप, तेस्रोमा चीनको वुहान इन्स्टिच्युट अफ बायोलोजिकलको मातहत रहेर सिनोफार्मले उत्पादन गरेको खोप रहेको छ । त्यस्तै, चौथो नम्बरमा सिनो फार्मले बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट मातहत उत्पादन गरेको खोप, पाँचौँ नम्बरमा मोडेर्ना तथा निएडको संयुक्त उत्पादनको खोप र छैटौँ नम्बरमा बायोएनटेक तथा फोसन फर्मा र पिटजर कम्पनीले उत्पादन गरेको खोप तेस्रो तथा अन्तिम क्लिनिकल परीक्षणका क्रममा रहेको छ ।

यीसहित अग्रस्थानमा रहेका अन्य १६ वटा खोपले दोस्रो चरण पार गरिसकेका छन् । त्यस्तै आठवटा खोपले पहिलो चरण पार गरेको छ । योबाहेक अरू १३९ खोप प्रारम्भिक चरणको क्लिनिकल परीक्षणका क्रममा रहेको डब्लूएचओले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ