Rumpum Advertisement

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको उच्चसम्मान गर्न प्रदेश प्रमुख अधिकारीको अनुरोध

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको उच्चसम्मान गर्न प्रदेश प्रमुख अधिकारीको अनुरोध

विराटनगर, ११ भदौ । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले कोरोना भाइरसको महामारीमा अग्रपंक्तिमा रहेर जनताको जीवन रक्षाका लागि अहोरात्र खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीप्रति उच्चसम्मान गर्न अनुरोध गरेका छन् ।

बिहीबार विज्ञप्ति जारी गर्दै अधिकारीले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीप्रति उच्चसम्मान व्यक्त गर्न प्रदेशबासीलाई अनुरोध गरेका हुन् ।

यस्तै अधिकारीले कोरोनाविरुद्ध पहिलो लाइनमा उभिएर लडिरहेका स्वस्थ्यकर्मी र सीमा सुरक्षामा खटिरहेका सुरक्षाकर्मीको बसोबास, खानपान र पोशाकमा सरोकार पक्षको ध्यान पुग्नु जरुरी देखिएको बताएका छन् ।

यसैगरी अधिकारीले संक्रमण सामुदायस्तरमा फैलिएको वर्तमान अवस्थामा सबैलाई सुरक्षित ढंगले घरमा बस्न र नेपाल सरकारका विभिन्न निकायले सुरक्षाका लागि गरेका अपिलहरूलाई पालना गर्दै कोरोनाविरुद्ध लड्नसमेत आग्रह गरे ।

‘यतिखेर धैर्य गरी सावधानी अपनाउने बेला हो, तर कोही छरछिमेक, ईष्टमित्र, आफन्त कोरोना भाइसरबाट संक्रमित भइहाले वहाँहरूलाई सामाजिक विभेद नगरी आ–आफ्नो स्थानबाट हामीले सरसहयोग गर्नुपर्ने जिम्मेवारीमा कमी आउन दिनुहुँदैन,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ’, ‘कोरोना संक्रमित सबैलाई आवश्यक पर्ने गाँस, बास, लत्ता कपडा, आवश्यक औषधिको व्यवस्थापनमा एकजुट भइ सर–सहयोग गर्नुहुन सम्बन्धित निकाय र आम जनसमुदायलाई अनुरोध गर्दछु ।’