लक्षण नदेखिएका संक्रमितले थाहा नपाइ अरुलाई संक्रमित गरिरहेका छन्

एजेन्सी, ११ भदौ । एसिम्प्टोमेटिक (लक्षण नदेखिएका) बिरामीहरूले थाहा नपाइ अरुलाई संक्रमित गरिरहेका छन् ।

लक्षण देखिएका बिरामीहरू प्रायः कोभिड १९ को जोखिममुक्त रहन घरमा नै बस्ने गर्छन् । तर, भाइरस बोकिरहेको कुराको बारेमा थाहा नभएका एसिम्प्टोमेटिक बिरामीहरूकाे भने दैनिक तालिकामा जारी रहन सक्छ ।

त्यसैले उनीहरूले अरुलाई संक्रमित गरिरहेको हुनसक्ने अध्ययनले देखाएको हो ।

जामा आन्तरिक चिकित्सामा प्रकाशित गरिएको अध्ययनअनुसार लगभग ३० प्रतिशत संक्रमितहरूमा लक्षण नदेखिए पनि उनीहरूमा लक्षण देखिएका बिरामीहरू जति नै रोगको प्रसारणका लागि लामो समयसम्म भाइरसको धेरै मात्रा रहन्छ ।

अध्ययनमा दक्षिण कोरियाको चेओनको सामुदायिक उपचार केन्द्रमा २२ देखि ३६ वर्षबीचका ३ सय ३ बिरामीहरूका नमूनाहरूको विश्लेषण गरिएको थियो ।

३ सय ३ बिरामीहरूमध्ये १ सय १० जना सेल्फ आइसोलेट हुनुअघि एसिम्प्टोमेटिक थिए । तीमध्ये २१ जनामा १३ देखि २० दिनको बीचमा केही लक्षणहरू देखिएकाे थियो भने बाँकी ८९ जनामा २० देखि २६ दिनसम्मको फलो-अप समयसम्ममा लक्षण देखिएकाे थिएन ।

तर, कोरोना भाइरसमा संक्रमित तथा लक्षण देखिएका बिरामीहरूमा जस्तै एसिम्प्टोमेटिक बिरामीहरूको नाक, घाँटी र फोक्सोमा ठूलो मात्रामा भाइरल भार भएको पत्ता लाग्यो ।

साथै, अनुसन्धानकर्ताहरूले एसिम्प्टोमेटिक बिरामीहरूले, लक्षण देखिएका बिरामीहरूले जतिकै समयसम्म भाइरस बोकिरहने पनि पत्ता लगाए ।

टुफ्ट्स युनिभर्सिटीका मार्टा गाग्लियाका अनुसार एसिम्प्टोमेटिक कोरोना भाइरसका बिरामीहरू लक्षण देखाएका बिरामीहरूभन्दा फरक हुँदैनन् ।

हङकङ विश्वविद्यालयका महामारी विज्ञानी बेन्जामिन काउलिङ्गले एसिम्प्टोमेटिक संक्रमितहरूले पनि संक्रमण सार्न सक्ने बताए ।

Loading...