मेस्सी सोमबारबाट बार्सिलोनाको प्रशिक्षणमा फर्किने

एजेन्सी, ११ भदौ । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आगामी सोमबारबाट प्रशिक्षणमा फर्किने मनसाय बनाएको बताइएको छ । स्पेनिस मिडिया मार्काका अनुसार अर्जेन्टिनी स्टार सोमबारबाट प्रशिक्षणमा फर्किने योजनामा छन् ।

क्लब छोड्ने निर्णय लिएका मेस्सीले प्रशिक्षणमा फर्किने मनसाय बनाए पनि बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउसँग भने भेट्ने मूडमा नरहेको मार्काले जनाएको छ । मंगलबार साँझ मात्र ३३ वर्षीय मेस्सीले क्लब छोड्ने जानकारी बार्सिलोनालाई गराएका थिए ।

मेस्सीले बार्सिलोनाबाट निरन्तरता नदिने भन्दै यसै समरमा क्लब छोड्ने वातावरण मिलाइदिन बोर्डसँग आग्रह गरेका थिए । सर्वाधिक धेरै छ पटकका बालोन डी‘ओर विजेता मेस्सीले अध्यक्ष बोर्टोमेउका कारण क्याप नोउ छोड्न चाहेको संकेत गरेका छन् ।

यस्तै उनले नयाँ प्रशिक्षक रोनाल्ड कोइम्यानसँग काम गर्न नचाहेकोले र जर्मन क्लब बायर्नसँगको लज्जास्पद हारले बार्सिलोना छोड्न चाहेको बताइन्छ । १४ अगस्टमा भएको च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्नसँग बार्सिलोनाले ८–२ गोलान्तरको हार ब्यहोरेको थियो ।

बार्सिलोनाका नयाँ खेल निर्देशक रामोन प्लानले कोरोना परीक्षण गरी खेलाडीलाई आइतबारबाट प्रशिक्षण मैदान फर्काउने योजनामा छन् । ३३ वर्षीय मेस्सी सोमबारबाट टिमका साथमा प्रशिक्षणमा फर्किने योजनामा छन् ।

यो प्रशिक्षण कोइम्यान नेतृत्त्वको पहिलो ट्रेनिङ हुनेछ । डच प्रशिक्षक कोइम्यान हालै बार्सिलोना आएका हुन् । बार्सिलोनाले क्वीक सेटिनलाई बर्खास्त गर्दै कोइम्यानलाई नियुक्त गरेको थियो ।

Loading...