Rumpum

Rumpum Advertisement

कोभिड १९ बाट बच्न प्रयोग गरिने साधारण मास्कले क्षयरोगविरुद्ध लड्न सघाउँछ

कोभिड १९ बाट बच्न प्रयोग गरिने साधारण मास्कले क्षयरोगविरुद्ध लड्न सघाउँछ

विराटनगर, ११ भदौ । कोभिड १९ बाट बच्नका लागि दैनिक प्रयोग गरिरहेको साधारण मास्कले सबैभन्दा पुरानो रोग क्षयरोग (टिबी) विरुद्ध लड्न मद्दत पुर्‍याउँन सक्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले टिबी निर्मूल गर्न सन् २०३० सम्मको समयसीमा तोकेको छ । कोरोनाको जोखिम कम गर्नका लागि लगातार मास्कको प्रयोगले डब्लुएचओले तोकेको मितिभन्दा पनि अगाडि नै टिबी निर्मूल गर्ने सकिने आशा जागिएको छ ।

लगातार मास्कको प्रयोगका साथ साथै खोकीसम्बन्धी प्रोटोकलहरू अपनाएमा छिट्टै टिबीलाई निर्मूल गर्न सकिन्छ ।

कोरोना भाइरसको संक्रमणपछि सुरुवाती दिनहरूमा टिबीका बिरामीहरू औषधिको अभाव र लकडाउनको क्रममा उपचार पाउन सकेका थिएनन् ।

तर, स्वास्थ्य अधिकारीहरूका अनुसार यी सेवाहरू अब सामान्य अवस्थामा फर्कँदैछन् । एउटा निजी क्षेत्रका डाक्टरले प्रसारणको जोखिम कम भएको कारण नयाँ बिरामीहरूपनि कम रहेको बताएका छन् ।

मान्छेहरू घरमै बसिरहेका छन् वा मास्क लगाएर बाहिर हिँड्ने गर्छन् जसले प्रसारणको जोखिम कम गरिरहेको छ ।

यसबाहेक, परिवारहरूमा दुई हप्ताभन्दा बढी समयसम्म खोकी लागेमा ध्यान दिएका कारण चाँडै टिबी पत्ता लगाउने परीक्षण गरी समयमा औषधि-उपचार भइरहेका छन् ।

माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाबाट फैलिने क्षयरोग सरुवा रोग भएको र यो खोकीकै माध्यमले एक व्यक्तिबाट अर्कोलाई सर्ने गर्छ ।

कोरोना र टिबी दुवै थुकका छिटामार्फत फैलिने हुँदा मास्कको प्रयोगले टिबीमा पनि फाइदा पुर्‍याएको छ ।

लामो समयसम्म खोकी लागिरहेमा, खोक्दा रगत देखा परेमा टिबीको जाँच गर्न सल्लाह दिइन्छ ।