चन्द्रकलामाथि कुटपिट गर्नेलाई कारवाही गर्न माग

विराटनगर, ११ भदाै । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइरालाले एथ्लेटिक्सकी कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि कुटपिट गर्नेलाई कारवाहीको माग गरेका छन् ।

बुधबार विज्ञप्ति जारी गर्दै उपाध्यक्ष कोइरालाले चन्द्रकलामाथिको आक्रमण मानवता विरोधी कार्य भएको बताए ।

पीडित खेलाडीलाई राखेपले आवश्यक सहयोग गर्ने उनले प्रतिबद्धतासमेत जनाए ।चन्द्रकलामाथिको कुटपिटको एथलेक्सि सङ्घ र राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी सङ्घले समेत विरोध गरेका छन् ।

सोमबार राति झापाको मेचिनगर नगरपालिकाको चारआलीमा दलित युवकलाई कुटपिटबाट जोगाउने क्रममा चन्द्रकलालाई उहाँका छिमेकी दुर्गा श्रेष्ठ र उनकी श्रीमती विष्णुले कुटपिट गरेका थिए ।

कुटाइबाट उनी सख्त घाइते भएकी छन् ।

गर्भवतीसमेत रहेकी चन्द्रकलाको झापाको बिर्तामोडस्थित बि एन्डबी अस्पतालमा उपचार भइरहेको छ । नेपाल पुलिस क्लबमा आवद्ध चन्द्रकला लकडाउन सुरु हुनुअघि झापा गएकी थिइन् ।

एथलेटिक्स खेलाडी चन्द्रकलाले पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुद र प्रदेश नं ५ मा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदमा सटपुट र ज्याभलिन थ्रोमा स्वर्ण पदक जितेकी थिइन् ।

उनको नाममा आठौँ राष्ट्रिय खेलकुदमा एथलेटिक्सको सटपुटमा १२.०४ मिटर तथा ज्याभलिन थ्रोमा ४४.०४ मिटर थ्रो गरेको राष्ट्रिय कीर्तिमान छ ।

–––

Loading...