एकीकृत फलफूल तथा तरकारी बजार सञ्चालनमा प्रदेश सरकारले समन्वय गरेन

विराटनगर, ११ भदौ । कटहरी गाउँपालिका–१ मा निर्माण गरिएको एकीकृत फलफूल तथा तरकारी थोक बजार सञ्चालनमा प्रदेश सरकार एक्लौटी रूपमा अघि बढेको स्थानीय सरकारले असन्तुष्टि जनाएको छ ।

बजार सञ्चालनका लागि नयाँ ठेक्का प्रक्रिया सुरु भएपछि कटहरी गाउँपालिकाले असन्तुष्टि जनाएको हो ।

बजार निर्माणअघि पाँच पक्षबीच सल्लाहमा सञ्चालन गर्ने सम्झौता भएको थियो । तर प्रदेश सरकारले बजार सञ्चालनका लागि कुनै समन्वय नगरेको कटहरी गाउँपालिका अध्यक्ष रामकुमार कामतले बताए । संरचना निर्माणपछि सञ्चालनको तयारी गर्दा स्थानीय सरकारसँग समन्वय नगरेको उनले बताए ।

बिहीबार पत्रकार सम्मेलन गरी अध्यक्ष कामतसहित स्थानीयबासीले प्रदेश सरकारले बजार सञ्चालन गर्न नसकेको उल्लेख गर्दै संरचना स्थानीय सरकारलाई जिम्मा लगाउन आग्रह गरे ।

प्रदेश १ सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बजार व्यवस्थापन तथा सञ्चालनका लागि गत २६ साउनमा सूचना प्रकाशित गरी प्रस्ताव आव्हान गरेको छ ।

स्थानीय देवराज चौधरीका अनुसार बजार उद्घाटन भएको लामो समयसम्म सञ्चालनमा आउन सकेको छैन । प्रदेश सरकारले चलनचल्तीको भन्दा महँगोमा ठेक्का लगाउन खोजेपछि बजार लामो समयसम्म नचलेको उनले बताए ।

पछिल्लो समय कोरोना महामारीको कारण देखाउँदै व्यापारीहरूसँगको मिलेमतोमा प्रदेश सरकारले तरकारी बजार सहकारी संस्थालाई निःशुल्क रूपमा सञ्चालनका लागि दिएको बताए ।

बजार निर्माण र सञ्चालन तथा व्यवस्थापनका निम्ति जनप्रिय मावि कटहरी, कटहरी गाउँपालिका, नेपाल सरकार कृषि व्यवसाय प्रवर्द्धन तथा बजार विकास निर्देशनालय, विराटनगर महानगरपालिका र एकीकृत कृषि थोक बजार उपभोक्ता समितिबीच सम्झौता भएको थियो ।

सम्झौताअनुसार पाँच पक्षको समन्वयमा काम सञ्चालन गर्ने उल्लेख छ । सम्झौतामा उल्लेख भएअनुसार कृषि बजार सञ्चालनबाट प्राप्त आम्दानीको ३० प्रतिशत रकम बजारमै खर्च गर्ने र बाँकी ७० प्रतिशतलाई एकसय प्रतिशत मानेर उपभोग गर्ने सम्झौता भएको स्थानीय हरिनारायण माझीले जानकारी दिए ।

तर, प्रदेश सरकार एक्लौटी ढंगबाट अघि बढेका कारण संरचना स्थानीय सरकारलाई जिम्मा लगाउन माग गरिएको उनले बताए ।

बजार सञ्चालनमा स्थानीय सरकारसँग समन्वय गर्नुपर्ने बताउँदै नेपाली कांग्रेस नेता भक्तिनाथ माझीले प्रदेश सरकारले चलाउन नसक्ने भए स्थानीय सरकारलाई संरचना बझाउन आग्रह गरे । स्थानीय सरकारले सबैसँग समन्य गरेर बजार सञ्चालन गर्न सक्ने उनले बताए ।

कटहरी १ मा रहेको जनप्रिय माध्यमिक विद्यालयको ४ बिगाहा २ कठ्ठा र कटहरी गाउँपालिकाको १८ कठ्ठा २ धुर गरी ५ बिगाहा २ धुर क्षेत्रफलमा १४ करोडको लगानीमा बजार निर्माण भएको थियो ।

Loading...