जापानका अनुसन्धानकर्ताको दाबी : ओजोनको प्रयोग गरी कोरोना भाइरस निस्क्रिय हुन्छ

जापानका अनुसन्धानकर्ताको दाबी : ओजोनको प्रयोग गरी कोरोना भाइरस निस्क्रिय हुन्छ

एजेन्सी, ११ भदौ । जापानका अनुसन्धानकर्ताले ओजोन ग्यासको मद्दतबाट कोरोना भाइरस नष्ट गर्ने उपाय पत्ता लागेकाे दाबी गरेका छन् ।

ओजोनको कम घनत्वको प्रयोगले कोरोना भाइरसका कणहरूलाई नष्ट गराउन सक्छ । जसकारण सम्भावित रूपमा अस्पतालहरूमा किटाणुनाशक गरेर सुरक्षित राख्न सकिने उनीहरूको भनाइ छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार जापानको फुजिता हेल्थ युनिभर्सिटीका अनुसन्धानकर्ताले कम घनत्व अर्थात मानिसलाई हानी नपार्ने मात्रा (०.०५ देखि ०.१ पीपीएम) को ओजोन ग्यासबाट कोरोना नष्ट गर्न सक्ने कुरा प्रमाणित गरेकाे दाबी गरेका हुन् ।

अनुसन्धानकर्ताका अनुसार कम घनत्व भएको यो मात्राको ओजोन ग्यास मानिसका लागि सुरक्षित देखिएको छ ।

अनुसन्धानमा कोरोना भाइरसको नमूनाको साथ एक च्यामबरमा ओजोन जेनरेटरको प्रयोग गरिएको थियो ।

जसमा १० घण्टाको लागि निम्नस्तर ओजोनको अधिनमा पर्दा भाइरसको क्षमता ९० प्रतिशतभन्दा बढी घटेको पाइएको छ ।

प्रमुख अनुसन्धानकर्ता टाकायुकी मुराताले कोरोना भाइरसको प्रसारलाई निरन्तर कम घनत्व भएको ओजोन उपचारले कम गर्न सक्ने बताए ।

उच्च आर्दताको स्थितिमा विशेष प्रभावकारी भएको पाएका कारण उनले मानिसहरू उपस्थित हुने वातावरणमा समेत यसलाई प्रयोग गर्न सकिने बताए । ओजोनले धेरै रोगजनकहरूलाई निष्क्रिय पार्न सक्छ ।

अघिल्लो अनुसन्धानहरूमा उच्च घनत्व भएको (१ देखि ६ पीपीएम बीच) ओजोनले कोरोना भाइरसलाई मार्न सक्ने देखिएको थियो । तर, यो मात्रा मानवहरूको लागि विषाक्त थियो ।