आगामी वर्षदेखि विद्यालयको पाठ्यक्रममा चलचित्रलाई समावेश गरिने

विराटनगर, ११ भदौ । आगामी वर्षदेखि विद्यालयमा चलचित्र पढ्न मिल्ने व्यवस्था गरिने भएको छ ।

आम नागरिकमा नेपाली चलचित्रको इतिहास, वर्तमान अवस्था तथा प्राविधिक पक्षबारे जानकारी दिने उद्देश्यले विद्यालयको पाठ्यक्रममा चलचित्रलाई समावेश गर्न लागिएको हो । पाठ्यक्रम विकास केन्द्रले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई पाठ्यक्रम निर्माण समितिको पदेन सदस्यको रुपमा आमन्त्रित गरेको छ ।

पाठ्यक्रम विकास केन्द्रसँग यस विषयमा भएको छलफल करिब अन्तिम चरणमा पुगिसकेको अध्यक्ष दाहात बताउँछन् । यो वर्ष ढिलो भइसकेको कारण अर्को वर्षदेखि पढाउने गरी पाठ्यक्रममा समावेश गर्ने सहमति भइसकेको उनले बताए । विद्यालयमा समावेश गर्ने पक्का भएपनि कलेजका लागी भने टुंगो भइसकेको छैन । सकेसम्म आउँदो वर्षमा चलचित्रलाई पाठ्यक्रममा समावेश गर्न पहल गर्ने अध्यक्ष दाहालको भनाइ छ ।

विद्यालय तहदेखि नै चलचित्रको इतिहास, साहित्यिक पक्ष र प्राविधिक पक्षको ज्ञान जरुरी रहेको हुनाले यसको पहल गरिएको हो । दाहालले कोरोना प्रभाव कम हुनेबित्तिकै आगामी वर्षका लागि पाठ्यक्रम निर्माण गर्ने कार्य सुरु हुने जानकारी दिए । विद्यालयमा सके १०० पूर्णांकको सम्भव नभए ५० पूर्णांकको पाठ्यक्रम बनाउने पहल भइरहेको छ भने पाठ्यपुस्तक लेखकहरूसँग पनि छलफल अगाडि बढाइएको छ ।

Loading...