वैदेशिक रोजगारमा गएकालाई उद्दार : राज्य कोषले धान्न नसक्ने डरले सरकार डरायो

काठमाडौ, ११ भदौ । वैदेशिक रोजगारमा गएका कामदारहरुलाई उद्दार गर्दा राज्य कोषले धान्न नसक्ने डरले सरकारले उद्दार प्रक्रिया पछाडि धकेल्दै गएको सरोकारवालाहरुले बताएका छन् ।

सरकारी पैसामा उद्दार गर्दा विदेशमा रहेका सबै कामदार आउन खोज्ने र राज्य कोषले धान्न नसक्ने डरले सरकारले उद्दार प्रक्रियालाई पछाडि धकेल्दै लगेको सरोकारवालाहरुको बताएका हुन् । वैदेशिक रोजगार सम्बन्धित सरोकारवालाहरुले कामदारहरुबाट जम्मा गरेको रकम खर्च गर्न डराएको बताएका हुन् । वैदेशिक रोजगार व्यवसायी अब्दुल सतारले वैदेशिक रोजगारमा जानुअघि श्रम स्वीकृति लिनभन्दा पहिला १ हजार ५ सय रुपैयाँ कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने अनिवार्य व्यवस्था भएको तर सोही रकम सरकारले खर्च गर्न कन्जुस्याइँ गरेको बताए ।

वैदेशिक रोजगारमा गएका कामदारहरुलाई भवितव्य परेमा, मृत्यु भएमा वा अपाङ्गता भएको अवस्थामा रेस्क्यु गर्नका लागि भन्दै सरकारले यो कोषमा रकम जम्मा नगर्दासम्म श्रम स्वीकृति दिँदैन । तर अहिले कोभिड महामारीबाट अप्ठेरोमा परेका कामदारलाई उद्दार गर्न कोषको रकम खर्च हुने डरले सरकारले विभिन्न मापदण्ड बनाएर ढिलाइ गर्ने र विभेद गर्ने नीति लिएको उनले बताए ।

वैदेशिक रोजगार ऐनले पनि भवितव्य परेमा कुनै पनि मुलुकमा रहेका कामदारलाई उद्दार गर्ने पूर्ण जिम्मेवारी नेपाल सरकारको हुने उल्लेख भएकाले पनि त्यसलाई पालना गर्नुपर्ने उनले बताए । उनले स्वदेशमा फर्कन चाहने सबै कामदारहरुलाई तत्काल निःशुल्करुपमा फर्काउन, पीसीआर परीक्षण र क्वारेन्टाइनको व्यवस्था निःशुल्क गर्नसमेत माग गरे ।

वैदेशिक रोजागरसम्बन्धी रिपोर्टिङ गर्दै आएका पत्रकार सुनिल न्यौपानेले सरकारी पैसामा उद्दार गर्न थालियो भने कम्पनीले टिकट काटेर पठाउने र आफैं टिकट किन्न सक्नेहरु पनि सरकारी पैसामा आउन खोज्छन् र राज्यको कोषले धान्न सक्दैन भन्ने डर सरकारसँग रहेको बताए । जसका कारण पनि सरकारले वैदेशिक रोजगारीमा भएमा कामदारहरुलाई उद्दार गर्ने प्रक्रियालाई पछाडि धकेल्दै लगेको उनले बताए ।

सर्वोच्च अदालतले आदेश गरेपछि मात्रै बाध्य भएर उद्दारको काम सुरु गरेको सरकारले आवश्यकताअनुरुप काम नगरेको पुष्टि भइसकेको उनले बताए । अदालतले वैदेशिक रोजगारीमा रहेका मानिसहरुलाई सरकारी खर्चमा उद्दार गर्न नभनेकाले पनि सरकारले निर्देशिका बनाई श्रम स्वीकृति लिएको निश्चित समय पुगेकालाई मात्रै उद्दार गर्ने नीति लिँदा उद्दार कार्यमा विभेद देखिएको बताए ।

श्रम तथा वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङले वैदेशिक रोजगारीमा रहेका कामदारहरुलाई उद्दार गर्न ढिलो भइसकेको बताए । कोभिड महामारी सुरु भएपछि पनि निकै ढिलो गरी नीति बनाएको भए पनि सरकारले अहिलेसम्म सोही नीतिअनुसार उद्दार गर्न नसकेको बताए । उनले नेपाली कुटनीतिक नियोगहरु पनि अहिले बल्ल नामावली संकलन गर्ने काममा लागेकाले गैरजिम्मेवार बन्दै गएको बताए । विदेशमा अलपत्र परेका नेपालीलाई समयमै ल्याउन नसक्दा कतिपय व्यक्तिहरु बाटोमा अलपत्र परेको खबरहरु आइरहेको उनले बताए ।

उनले श्रम स्वीकृति नलिइकन जाने कामदारहरुलाई सरकारको उद्दार नीतिले नसमेटेको बताए । उनले गैरकानूनीरुपमा गएकाहरुलाई उद्दार गर्न सक्दिन भन्नु गैरजिम्मेवार भएको टिप्पणी गरे । त्यस्तै कल्याणकारी कोषमा रहेको रकम अहिले नै खर्च गरे भविष्यमा के गर्ने भन्ने सोचाइ सरकारको रहेकाले उद्दार कार्यका लागि उक्त रकम खर्च हुन नसकेकोसमेत बताए । श्रमिकहरुले नै जम्मा गरेको कोषको रकम खर्च गर्नका लागि सरकारले कन्जुस्याई गर्न जरुरत नहरहेको पनि गुरुङले बताए ।

वैदेशिक रोजगार व्यवसायीहरुले भने सरकारले मेनपावरले पठाएका कामदारको जिम्मेवारी सम्बन्धित कम्पनीले नै लिनुपर्ने जस्तो गरी व्यवहार गरेको बताए । वैदेशिक रोजगारबाट वार्षिकरुपमा कुल ग्राहस्थ उत्पादनको २५ प्रतिशतभन्दा बढी रकम योगदान गर्ने मानिसहरुलाई विपदको बेलामा उद्दार गर्न कन्जुस्याई गर्न नहुने तर्क गरेका छन् । यस्तै कोभिडका कारण सबै क्षेत्रमा प्रभाव परेको तर सरकारले वैदेशिक रोजगारी व्यवसायीलाई हेर्ने दृष्टिकोण फरक हुँदा अहिलेसम्म कुनै पनि तरिकाले राहत पाउन नसकेको बताएका छन् । पुनर्कर्जा कोष, बैंक ब्याजदरलगायत कुनै पनि किसिमको सुविधा पाउन नसक्दा व्यवसायबाट नै पलायन हुनुपर्ने स्थिति आएको गुनासो व्यवसायीहरुको छ ।

Loading...