Rumpum

Rumpum Advertisement

‘अमूल्य मेस्सी’

‘अमूल्य मेस्सी’

एजेन्सी, ११ भदौ । रियल मड्रिडका पूर्वअध्यक्ष रामोन क्याल्डेरनले बार्सिलोनाका कप्तान लियोनल मेस्सी अनमोल रहेको बताएका छन् । क्याल्डेरनले हालै दिएको एक अन्तर्वार्ताका क्रममा मेस्सी अमूल्य रहेको बताउँदै उनको सरुवा असम्भव रहेको पनि जनाएका छन् ।

३३ वर्षीय मेस्सीले मंगलबार नै क्लब छोड्ने जानकारी बार्सिलोनालाई गराइसकेका छन् । मंगलबार साँझ मेस्सीले बार्सिलोनाबाट निरन्तरता नदिने भन्दै यसै समरमा क्लब छोड्ने वातावरण मिलाइदिन बोर्डसँग आग्रह गरेका थिए ।

सर्वाधिक धेरै छ पटकका बालोन डी‘ओर विजेता मेस्सीले नयाँ प्रशिक्षक रोनाल्ड कोइम्यानसँग काम गर्न नचाहेको संकेत गरेका छन् । त्यसबाहेक १४ अगस्टमा भएको च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा जर्मन क्लब बायर्नसँगको ८–२ गोलान्तरको लज्जास्पद हारका कारण उनी क्लब छोड्ने मनसायमा पुगेका हुन् ।

तर, क्याल्डेरनले भने मेस्सी अनुबन्ध गर्न इच्छुक क्लबहरूले उनलाई किन्न नसक्ने बताएका छन् । ‘मलाई लाग्छ उनीहरू मैत्रीपूर्ण सम्झौतामा पुग्नेछन् । उनीहरूले २० वर्ष एकसाथ बिताएका छन् । मेस्सीले बार्सिलोनामा उनको उत्कृष्ट गरिरहेका छन् । र, बार्सिलोनाले पनि मेस्सीका लागि सबैथोक दिइरहेको छ । उनीहरूले एकसाथ धेरै उापधि जितेका छन् । र, उनले नै छ पटक बालोन डी‘ओर जितेका छन्,’ उनले भने ।

यसैगरी क्याल्डेरनले बार्सिलोना र मेस्सी दुवै पक्षले मैत्रीपूर्ण बाटोमार्फत यो समस्या समाधान गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गरे । ‘म विश्वस्त छु कि उनीहरूले एक–अर्कामाथि कानूनी लडाइँ लड्ने छैनन् र मैत्रीपूर्ण बाटोमार्फत यो समस्या समाधान गर्नेछन् । यो समस्या अध्यक्ष बार्टोमेउले समाधान गर्नेछन्,’ उनले थपे ।

मेस्सी भित्र्याउने दौडमा इंग्लिस क्लब म्यानचेस्टर सिटी सबैभन्दा अगाडि देखिएको छ । ऊसँगै दौडमा इटालियन क्लब इन्टर मिलान र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पनि छन् । तथापि, पीएसजीले आर्थिक अभावका कारण मेस्सी भित्र्याउने दौडबाट पछि हट्ने संकेत गरिसकेको छ ।

कोरोना महामारीका कारण सबै क्लबमा आर्थिक प्रभाव परेको छ । यस्तैमा मेस्सी किन्न सक्ने कुनै क्लबमा क्षमता नभएको क्याल्डेरनको भनाइ छ ।

‘पक्कै पनि म उत्साहित छु कि यदि कुनै पनि क्लबले मेस्सीलाई अनुबन्ध गर्न सकेमा । यो सत्य हो कि उनी ३३ वर्षका छन् तर उनले अझै तीन वा चार वर्ष उत्कृष्ट खेल्न सक्छन्,’ उनले भने ।

‘कसले मेस्सीलाई तबल दिन सक्ला ? रियलले रोनाल्डोलाई १०० मिलियन युरोमा बेचेको थियो । जबकि रोनाल्डो अझै पनि मूल्यवान छन् र उनले अझै दुई वर्ष खेल्नेछन् । मेस्सी अमूल्य छन्, मलाई लाग्दैन कि उनलाई कसैले तलब दिन सक्छन् । यसैले म मेस्सीको सरुवा सम्भव देख्दिनँ ।’