विराटनगरको पीसीआर मेसिन खरिदमा जालझेल : पाँच लाख चन्दा दिने उद्योगीलाई तीन लाख मुनाफा !

विराटनगरको पीसीआर मेसिन खरिदमा जालझेल : पाँच लाख चन्दा दिने उद्योगीलाई तीन लाख मुनाफा !

विराटनगर, ११ भदौ । निजी क्षेत्रले खरिद गरी विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको पीसीआर मेसिन बजार मूल्यभन्दा महँगो मूल्यमा खरिद गरेको पाइएको छ ।

सोमबार विराटनगरको निजी क्षेत्रले खरिद गरी महानगरपालिकालाई हस्तान्तरण गरेको पीसीआर जाँच मेसिन बजार मूल्यभन्दा महँगो मूल्यमा उद्योगी प्रदीप मुरारकामार्फत् खरिद गरिएको हो ।

मुरारकाले छोरामार्फत् जर्मनमा निर्मित क्वायजेन कम्पनीको ‘रोटर–जेन क्यू ५ प्लेक्स एचआरएम सिस्टम’ मोडलको पीसीआर मेसिन खरिद गरी महानगरलाई उपलब्ध गराएका थिए । उनका छाेरा काठमाडाैंमा मेडिकल सामाग्रीकाे काराेवार गर्छन् । ‘जेएचएस एनालाइटिक ट्रेडर्स काठमाडौं’ को नामबाट बिल काटिएको छ ।

बिलमा महानगरलाई हस्तान्तरण गरेको मेसिनको मूल्य २८ लाख छ । भ्याटसहित ३१ लाख ६४ हजार रुपैयाँ मूल्य छ । तर सोही मेसिनको मूल्य १२ लाख ५० हजार भारु (नेपाली २० लाख रुपैयाँ) पर्छ । मेसिनको मूल्य आठ लाख रुपैयाँको अन्तर छ ।

१७ लाख १७ हजार ८३० रुपैयाँ भारतीय मूल्य रहेको मेसिन छुटसहित १२ लाख ५० हजारमा उपलब्ध गराउने भारतीय कम्पनी क्वायजेनले पठाएकाे स्टमेट बिलमा उल्लेख छ ।

निजी क्षेत्रले खरिद गरेको मेसीनको बिल (दायाँ), क्वायजेनको छुट रकमसहितको स्टिमेट बिल (बायाँ) ।

पाँच लाख चन्दा, तीन लाख मुनाफा

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको पहलमा निजी क्षेत्रले पीसीआर मेसिन खरिद गरी महानगरपालिकालाई उपलब्ध गराएको थियो । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेका अनुसार मेसिन खरिदका लागि कोभिड राहत कोष बनाइएको थियो ।

सोही कोषमार्फत् मेसिन खरिद गर्न उद्योगी प्रदीप मुरारकाले पाँच लाख सहयोग गरेका थिए । मेसिन खरिदका लागि विराटनगरका मेयरले एक वर्षको सुविधा उपलब्ध गराएका थिए ।

मुरारकाले पाँच लाख सहयोग गरे पनि उनको छोरा शिशिरमार्फत् मेसिन बिक्री गर्दा आठ लाख मुनाफा लिएको स्रोत बताउँछन् ।

सामान्यतया उद्योगी मुरारका खुलेर सहयोग गर्ने उद्योगी होइनन् । तर मेसिन खरिद गर्ने क्रममा उनले पाँच लाख सहयोग गरे । चन्दा संकलन गरेर मेसिन खरिद गर्ने क्रममा विराटनगरका निजी क्षेत्रले खुलेर सहयोग गरेको थियो । छोरामार्फत् मेसिन खरिद उपलब्ध गराइदिएका उद्योगी मुरारकाले मुनाफा लिएपछि निजी क्षेत्र असन्तुष्ट बनेको छ ।

मेयर पराजुली भन्छन्– म प्राविधिक होइन

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली निजी क्षेत्रको सहयोगमा मेसिन खरिद भएको बताउँछन् । उनले प्रदीप मुरारकाको समन्यवमा विराटनगरमा छिटो र सस्तोमा मेसिन आएको बताए ।

‘वीरगञ्जमा ४० लाखमा मेसिन बिक्री गरेको भन्ने सुन्दै थिएँ,’ उनले भने, ‘म प्राविधिक मान्छे त होइन । तर यो मेसिन आयात गर्दा सस्तोमा उपलब्ध गराउनु भएको छ ।’ संकटमा सहयोग गरेका उद्योगीले मुनाफा नलिएको उनले बताए ।

मुरारका भन्छन्– ‘एक पैसा खाएको भए सर्वनास होस्

पीसीआर मेसिन खरिदमा मुनाफा लिएको आरोप लागेपछि उद्योगी प्रदीप मुरारकाले एक पैसा पनि मुनाफा नलिएको बताएका छन् । आफूले काठमाडौंको व्यापारीसँग महानगरको सम्पर्क मात्र गराइदिएको उनले बताए ।

‘मेयर सावले भनेपछि छोरामार्फत् काठमाडौंको व्यापारीसँग बुझेर मेसिन मगाइदिएको हो,’ उनले भने, ‘मेसिन खरिदमा मैले पाँच लाख सहयोग गरेको छु । यदि भगवान छन्, एक पैसा खाएको भए मेरो सर्वनास होस् ।’

मेयरले आग्रह गरेका कारण छोटो समयमा मेसिन उपलब्ध गराएको बताउँदै उनले सहयोग गर्दा आफूलाई बदनाम गराउन खोजिएको बताए ।

भारतमा साढे १२ लाख पर्ने मेसिनको १८ प्रतिशत जीएसटी कर लाग्ने उनले बताए । तेस्रो देशका सामान भारतबाट आउन प्रतिबन्ध रहेको बताउँदै उनले भने, ‘साढे १२ लाख मेसिनको दाम परे नेपालसम्म आउँदा १८ प्रतिशत जीएसटी लाग्छ, त्यसबाहेक बिक्रेताले एक–डेढ लाख मुनाफा पनि लिन्छन् होला ।’