अस्पतालबाटै कोरोना भाइरसको संक्रमण हुन सक्छ

विराटनगर, ११ भदौ । हजारौँ मानिसहरू अस्पतालबाटै कोरोना भाइरस संक्रमित भएको हुन सक्ने अध्ययनले देखाएको छ ।

किङ्स कलेज लन्डनका वैज्ञानिकहरूले यूकेका १० अस्पताल र इटलीको एक अस्पतालमा गरेको अध्ययनमा, उक्त अस्पतालमा उपचाररत प्रत्येक आठमध्ये एक बिरामीलाई अस्पतालमै संक्रमण भएको पाइएको छ । अनुसन्धानकर्ताहरूले यो अनुपात तुलनात्मकरूपमा कम रहेको र अस्पतालहरूमा प्रभावकारी संक्रमण नियन्त्रणका उपाय अपनाइएको देखिएको बताएका छन् ।

अध्ययनका मुख्य अनुसन्धानकर्ता डा. बेन कार्टरका अनुसार अधिकांश बिरामीहरू पहिलेदेखि नै अस्पतालमा थिए । उनीहरू वृद्धवृद्धा, कमजोर वा अन्य रोग लागेकाहरू थिए । अस्पतालमा भर्ना भएको १५ वा सोभन्दा धेरै दिनपछि संक्रमित भएकाहरूलाई मात्र अस्पतालबाट संक्रमित भएको मानिएको छ ।

अस्पतालमा भर्ना भएको ५ देखि १४ दिनको अवधिमा संक्रमित भएकालाई पनि स्वीकारेमा उक्त अनुपात २३ प्रतिशतले बढेको देखियो । अक्सफोर्ड विश्वविद्यालयका सघन उपचारसम्बन्धी विज्ञ प्राध्यापक डन्कन यङ्ले अध्ययनले छोटो समयको अस्पताल बसाइमा संक्रमित भएकाहरू समेट्न नसकेको बताएका छन् । साथै, अध्ययनमा थला परेर अस्पतालमा उपचार लिन बाध्य भएका बिरामीमात्र समेटिएको छ ।

Loading...