Rumpum

Rumpum Advertisement

‘बायर्नलाई रोनाल्डो चाहिँदैन, हामीसँग लेवान्डोस्की छन्’

‘बायर्नलाई रोनाल्डो चाहिँदैन, हामीसँग लेवान्डोस्की छन्’

एजेन्सी, ११ भदौ । जर्मन क्लब बायर्न म्युनिखका अध्यक्ष कार्ल हेइन्ज रुमेनिजलले आफूहरूलाई क्रिस्टियानो रोनाल्डोको आवश्यकता नरहेको जनाएका छन् ।

रोबर्ट लेवान्डोस्की हुँदा–हुँदै बायर्नलाई पोर्चुगिज स्टार रोनाल्डो नचाहिएको अध्यक्ष रुमेनिजकाे भनाइ छ ।

सन् २०१८ मा बायर्नले पाँच पटकका बालोन डी‘ओर विजेता रोनाल्डो भित्र्याउन अस्वीकार गरेको बताइन्छ । सोही वर्ष रोनाल्डो रियल मड्रिडको नौ वर्षे बसाइ अन्त्य गर्दै इटालियन क्लब युभेन्ट गएका थिए ।

रोनाल्डोका फ्यानसमेत रहेका बायर्नका अध्यक्षले उनलाई भित्र्याउने विषयमा क्लबमा कहिल्यै छलफल नभएको बताए ।

‘हामीसँग अझै पनि लेवान्डोस्की छन् । यसैले हामीलाई रोनाल्डो जस्ता स्ट्राइकरको खाँचो छैन । तर, युभेन्टसले साँच्चै नै राम्रो तरिकाले रोनाल्डो भित्र्यायो,’ उनले ‘टुट्टोस्पोर्ट्स’सँगको कुराकानीमा भने ।

‘सबैतिरबाट हेर्दा युभेन्टसले रोनाल्डो किन्नु एक सफलता हो । रोनाल्डोले महत्त्वपूर्ण खेलहरूमा धेरै गोल गर्छन् । उनले आफ्नो बेग्लै पहिचान बनाएका छन् । उनले युभेन्टसलाई व्यवसायिक रूपले धेरै माथि लगेका छन्,’ उनले थपे ।

यसैगरी रुमेनिजले रोनाल्डो र लेवान्डोस्की एकै प्रकारका खेलाडी भएको उल्लेख गरे ।

उनले भने, ‘रोनाल्डोको नाम बिक्छ अनि प्रतिभा पनि । रोनाल्डोसँग सबै कुरा छ । रोनाल्डो फुटबलका लागि बाँच्छन्, लेवान्डोस्की जस्तै । अनि दुवै जना लियोनल मेस्सी जस्तै छन् । उनीहरू तीनै जना युवाहरूका लागि उदाहरण हुन् ।’