Rumpum

Rumpum Advertisement

कोरोनाबाट ७० वर्षीया महिलाको मृत्यु

कोरोनाबाट ७० वर्षीया महिलाको मृत्यु

बाँके, ११ भदौ । बाँकेमा कोरोना संक्रमणबाट आज थप एक ७० वर्षीयाको मृत्यु भएको
छ ।

दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएकी नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ निवासी महिलाको आज बिहान १०ः३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि यही भदौ ३ गते बिहान १० बजे नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जमा ती महिलालाई भर्ना गराइएको थियो । कोरोनाको लक्षण देखिएपछि स्वाब लिएर परीक्षण गर्दा भदौ ५ गते अपराह्न ३ बजे संक्रमण देखिएको थियो ।

उपचारकै क्रममा स्वास्थ्य अवस्था बिगिँ्रदै गएपछि भदौ ६ गते राति १० बजे शिक्षण अस्पताल नेपालगञ्जबाट भेन्टिलेटरसहित शिक्षण अस्पताल कोहलपुर सारेर उपचार गर्दागर्दै पनि बिरामीको अवस्थामा सुधार नआएपछि आज बिहान मृत्यु भएको बताइएको छ ।

यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुने छ पुगेको छ । यसअघि नरैनापुर गाउँपालिका–५ निवासी २५ वर्षीय युवक, बैजनाथ गाउँपालिका–६ निवासी ४६ वर्षीया महिला, कोहलपुर नगरपालिका–२ निवासी ७० वर्षीया महिला, नेपालगञ्ज–५ निवासी ६२ वर्षीय पुरुष र नेपालगञ्ज–१ निवासी ३७ वर्षीय युवकको कोरोनाबाट मृत्यु भइसकेको छ ।