मेस्सीसँग खेल्न चाहन्छन् हालै बार्सिलोना आएका ट्रिनकाओ

मेस्सीसँग खेल्न चाहन्छन् हालै बार्सिलोना आएका ट्रिनकाओ

एजेन्सी, ११ भदौ । बार्सिलोनाका नयाँ खेलाडी फ्रान्सिस्को ट्रिनकाओले कप्तान लियोनल मेस्सीका साथ खेल्न चाहेको बताएका छन् । २० वर्षीय पोर्चुगिज स्टार ट्रिनकाओले बुधबार पत्रकार सम्मेलनका क्रममा मेस्सीसँग खेल्ने चाहना व्यक्त गरे ।

ट्रिनकाओ पोर्चुगिज क्लब ब्रागाबाट ३ अगस्टमा मात्र क्याप नोउ आएका हुन् । बार्सिलोनाले स्ट्राइकर ट्रिनकाओलाई ३१ मिलियन युरोमा अनुबन्ध गरेको हो । उनले बार्सिलोनासँग सन् २०२५ सम्मको सम्झौता गरेका छन् ।

अर्जेन्टिनी स्टार मेस्सीले बार्सिलोना छोड्ने जानकारी दिएको एक दिनपछि ट्रिनकाओले मेस्सीसँग खेल्न चाहना व्यक्त गरेका हुन् । ‘मैले अझैसम्म प्रशिक्षक रोनाल्ड कोइम्यानसँग भनेको छैन’, उनले भने, ‘म चाहन्छनु कि मेस्सी यहीँ बस्नुहोस् । यो मैले भन्ने कुरा त होइन तर म उत्कृष्ट क्लबमा विश्वकै उत्कृष्ट खेलाडीहरूसँग खेल्न चाहन्छु ।’

मेस्सीले केही दिनअघि मात्र बार्सिलोनाको कार्यालयमा फ्याक्स गर्दै आफूलाई क्लब छोड्ने वातावरण मिलाइदिन आग्रह गरेका थिए । मंगलबार साँझ क्लब छोड्ने औपचारिक निर्णय गर्दै उनले बार्सिलोनालाई फ्याक्स पठाएका थिए ।