Rumpum

Rumpum Advertisement

पुजारी हत्याको विरोधमा हुने आन्दोलन रोक्न गृहको सर्कुलर

पुजारी हत्याको विरोधमा हुने आन्दोलन रोक्न गृहको सर्कुलर

विराटनगर, ११ भदौ । रौतहटमा भएको पुराजी हत्याका विरुद्धमा हुने सबै खाले आन्दोलन रोक्न गृह मन्त्रालयले प्रहरी र प्रशासनलाई गोप्य रुपमा सर्कुलर गरेको फेला परेको छ ।

माधवनारायण नगरपालिका–२ खिेसरहियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्यामा अनुसन्धान फितलो भएको र हत्यामा संलग्न पक्राउ नपरेको भन्दै आन्दोलन भइरहेका बेला गृहले प्रहरीलाई निर्देशनात्मक सर्कुलर गरेको पाइएको हो ।

मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका नाममा नेपाल प्रहरीका प्रमुख महानिरीक्षक शैलेश थापा क्षेत्री र सबै जिल्ला प्रशासन कार्यालयलाई उक्त सर्कुलर जारी भएको छ । चार दिन अघि जारी गरिएको पत्रमा पुजारी श्रीराम साहको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै विरोध प्रदर्शन, दीप प्रज्वलान र ज्ञापन पत्र बुझाउने जस्ता कार्य भइरहेको भन्दै गृहले त्यसलाई ‘अवाञ्छित गतिविधि’ भनेको छ ।

सबै जिल्लामा हुने यस्ता अवाञ्छित गतिविधी सबै निकायसँग समन्वय गरेर रोक्न र गैर कानुनी गतिविधी भएमा त्यसमा संलग्नलाई तत्काल नियन्त्रणमा लिन पत्रमा भनिएको छ । पुजारी हत्याको विरोधमा हुने गतिविधी र आन्दोलनले शान्ति सुरक्षामा आँच आउन सक्ने भएकाले यस्तो सर्कुलर हुनु सामान्य भएको गृह मन्त्रायलका सूचना अधिकारी प्रेमलाल लामिछानेको दाबी छ ।

खाना खान बसेका बेला पुजारी साहको गत ३ भदौमा राति अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए । हत्यामा संलग्न अहिलेसम्म पत्ता लाग्न नसकेको भन्दै नागरिक स्तरमा चर्को विरोध भइरहेको छ । घटनालाई लिएर नागरिकको आक्रोस बढेको छ । पुजारी हत्याको सन्दर्भमा अहिलेसम्म घटनाको चुरोसम्म प्रहरी पुग्न नसक्नु र गृहले आन्दोलनलाई नियन्त्रणमा लिनू भनेर सर्कुलर गर्नुलाई आर्थपूर्ण रुपमा हेरिएको छ ।