वीरगञ्जमा एक वृद्ध र गर्भवतीसहित दुई कोरोना संक्रमितको मृत्यु

विराटनगर, ११ भदौ । बारा र पर्साका दुई कोरोना संक्रमितको उपचारका क्रममा वीरगञ्जमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक वृद्ध र एक गर्भवती महिला छन् । पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय वृद्ध र बाराको सुवर्ण गाउँपालिका–४ की २३ वर्षीया गर्भवती महिलाको मृत्यु भएको हो ।

वृद्धलाई उपचारका लागि भदौ ८ गते नारायणी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारका क्रममा उनको बुधबार साँझ मृत्यु भएको हो ।

कोरोना देखिएपछि गण्डक कोभिड अस्पतालमा सार्न खोज्दै गर्दा उनको मृत्यु भएको बताइएको छ । संक्रमण पुष्टि भएपछि आफन्तले उनलाई अस्पतालमै छोडेर गएका थिए ।

भदौ ८ गते नै उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएकी महिलाको पेटमा भने ३३ हप्ताको गर्भ रहेको खुलेको छ । श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल ल्याइएकी उनको बिहीबार बिहान ६ बजेतिर मृत्यु भएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

वीरगञ्जमा हालसम्म ४४ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । तीमध्ये ३२ जना पर्सा, १० जना बारार २ जना रौतहटका छन् । जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा मृत भेटिएको बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अहिलेसम्म पहिचान भएको छैन ।

Loading...