कोरोनाको आशंका गरिएका मृतक कैदीको रिपोर्ट नेगेटिभ

विराटनगर, ११ भदौ । कोरोना भाइरस संक्रमणको आशंका गरिएका कोशी अस्पतालमा बुधबार दिउँसो मृत्यु भएका कैदीको रिपोर्ट नेगेभिट आएको छ ।

मोरङ कारागारमा कैद सजाय भुक्तान गरिरहेका विराटनगर महानगरपालिका–४ घर भएका २६ वर्षीय निराजन यादवको मृत्यु भएपछि कोरोनाको आशंकामा स्वाब परीक्षण गर्न प्रयोगशालामा पठाइएको थियो । एक्कासि श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल पठाइएका उनमा कोरोनाको आशंका चिकित्सकले गरेका थिए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले बुधबारराति ११ बजेतिर मृतक कैदीको कोरोना रिपोर्ट नेगेटिभ आएको बताए । कोरोनाको आशंकामा आइसोलेसनमा राखेर उपचारको प्रक्रिया सुरु गर्दा उनको मृत्यु भएको दासको भनाइ छ ।

मृतक कैदी लामो समयदेखि क्षयरोगबाट पीडित रहेको र एक्कासि श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि पठाइएको कारागारका जेलर सुवासकुुमार लामिछानेले बताए । जिल्ला अदालत मोरङले यादवलाई लागुऔषध मुद्दामा २०७६ साल फागुन ११ गते एक वर्ष नौ महिना १९ दिन कैद सजाय र ७८ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । अदालतको फैसलापछि उनी कैद सजाय भुक्तान गरिरहेका थिए ।

मृतकका परिवारका सदस्यले भने उनको मृत्यु कुटपिटका कारण भएको बताउँदै आएका छन् । कारागारभित्र चरम यातना दिने गरिएको र त्यही कारण मृत्युु भएको भनेर परिवारले दाबी गरेपछि शवको पोस्टमार्टम गरिने भएको छ ।

रहस्यमय मृत्युमा प्रहरीले पनि अनुसन्धान अघि बढाएको छ । जेलर लामिछानेले भने कुटपिट र यातनाको कुरा आफूलाई थाहा नभएको बताउँदै पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको वास्तविकता बाहिर आउने जानकारी दिए ।

Loading...