Rumpum Advertisement

सन्दीपले दुई विकेट लिएको खेलमा जमैका पराजित

सन्दीपले दुई विकेट लिएको खेलमा जमैका पराजित

विराटनगर, ११ भदौ । क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध टोली जमैका तल्लावाज पराजित भएको छ ।

बिहीबार बिहान आफ्नो पाँचौ खेल खेलेको जमैका बार्बाडोस ट्रिडेन्टससित ३६ रनले पराजित भएको हो ।

ट्रिनिडाड एन्ड टोबागोस्थित क्विन्स पार्क ओभलमा भएको खेलमा बार्बाडोसले दिएको १४९ रनको लक्ष्य पछ्याएको जमैकाले निर्धारित २० ओभर खेल्दा ९ विकेटको क्षतिमा मात्र ११२ रन मात्र बनाउन सक्यो ।

जमैकाका लागि क्रुमाह बोनरले ३१ रन जोडे भने जर्माने ब्लाकवूडले २८ रन बनाए । मुजीव उर रहमानले १८ रन जोड्दा चाडविक वाल्टनले १० रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । सन्दीपले ४ रन जोडेका थिए ।

बलिङतर्फ मिचेल सेन्टर, जासोन होल्डर, रशिद खान र रेमन रेफरले समान २–२ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको बार्बाडोसले निर्धारित २० ओभर खेल्दा ७ विकेटको क्षतिमा १४८ रन जोडेको थियो ।

उसका लागि केले मेयरले सर्वाधिक ८५ रन जोड्दा मिचेल सेन्टरले अजिवित २० रन जोडे ।

बलिङतर्फ मुजीव उर रहमानले तीन तथा सन्दीपले दुई विकेट झारे । सन्दीपले ४ ओभरमा १६ रन खर्चिँदै दुई किवेट झारे ।

पराजयसँगै जमैका पाँचौं स्थानमा झरेको छ । दुई खेलमा जित र तीन खेलमा हार ब्यहोरेको जमैकासँग ४ अंक छ । यससँगै जारी प्रतियोगितामा सन्दीप पाँच खेलमा ७ विकेट लिन सफल भएका छन् ।