माेरङ कारागारमा कैदीको रहस्यमय मृत्यु, आफन्त भन्छन् : ‘कुटपिटपछि हत्या’

शिवहाङ राई

विराटनगर, १० भदौ । जिल्ला कारागार मोरङमा कैद भुक्तान गरिरहेका युवकको रहस्यमय मृत्यु भएको छ ।

लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर–४ का २६ वर्षीय निराजन यादवको बुधबार मृत्यु भएको हो ।

मृतक निराजनका आफन्त

रहस्मय मृत्यु भएपछि आफन्तले कारागारमा कुटपिटपछि हत्या गरेको आरोप लगाएका छन् । लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका युवकको अवस्था तीन दिनअघिसम्म सामान्य थियो । तीन दिनअघि मृतकमा दाजुले उनलाई पैसा पुर्‍याइदिएका थिए ।

लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका यादवलाई बुधबार दिउँसो ४ बजे कोशी अस्पतालमा उपचारका लागि ल्याइपुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।

तीन दिनअघि सकुशल र स्वस्थ रहेका आफ्नो भाइको एक्कासी मृत्युको खबर पाएको मृतकका दाजु देवेन्द्रकुमार यादवले कोशी अनलाइनलाई बताए ।

‘तीन दिनअघि कारागारमा पुगेर खर्च दिएको थिएँ,’ देवेन्द्रले काेशी अनलाइनसँग भने, ‘त्यतिबेला भाइलाई केही समस्या थिएन । अचानक कारागारबाट बिरामी भएर अस्पताल ल्याएका छौं आउनुहोला भन्ने जानकारी आयो । अस्पताल पुग्दा भाइको मृत्यु भइसकेको जानकारी दिए ।’

कारागारमा चरम यातना दिएका कारण मृत्यु भएको आफन्तको आरोप छ । कुटपिटका कारण निराजनको ज्यान गएको दाबी गर्दै आफन्तले छानबिन हुनुपर्ने र दोषीलाई कारवाही माग गरेका छन् ।

मृतकका आफन्त विष्णु यादवले निराजनलाई कारागारभित्र यातना दिएको आफूहरूले जानकारी पाएको बताए । ‘कारागारमा निकै यातना दिने गरेको सुनेका छौं,’ उनले भने, ‘घटनाको सत्यतथ्य छानबिन हुनुपर्छ ।’

मृतकका आफन्तले निराजनको मृत्यु कुटपिटका कारण भएको बताए पनि कोरोनासँग मिल्दो-जुल्दो लक्षण देखिएकाले अस्पतालले कोरोना जाँचको तयारी गरेको छ ।

‘यहाँ ल्याउनुभन्दा अघि नै ती युवकको मृत्यु भइसकेको थियो । पीसीआर रिपोर्ट नआइकन थप परीक्षण गर्न नमिल्ने प्रोटोकल भएले शव छुट्टै ठाउमा राखेका छौं,’ कोशी अस्पतालका इमर्जेन्सी वार्डका एक चिकित्सकले भने,‘मृत्युको कारण थप परीक्षणपछि थाहा हुन्छ ।’

पोष्टमार्टमको तयारी

आफन्तले कुटपिटपछि हत्या गरेको आरोप लगाएपछि प्रहरीले मृतकको शव पोष्टमार्टम गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

‘आफन्तले शंकास्पद भएको बताएकाले पोष्टमार्टम गर्छाैं,’ उनले भने, ‘पोष्टमार्टम रिपाेर्टपछि सबै विषय खुल्छ ।’ घटनाको छानबिन सुरु गरिएको उनले जानकारी दिए ।

यादव लागूऔषध मुद्दामा एक वर्ष ९ महिना १९ दिन कैद फैसला भएका व्यक्ति हुन् । २०७६ फागुन ११ गते जिल्ला अदालत मोरङले कैद र ७८ हजार जरिवानाको फैसला सुनाएको थियो ।

क्षयरोगका बिरामी रहेका यादवमा स्वाश्वप्रश्वासमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना गरिएको जिल्ला कारागार मोरङका जेलर सुवासकुमार लामिछानेले जानकारी दिए ।

बुधबार करिब ४ बजे पठाइएका युवकको केही समयपछि मृत्यु भएको उनले बताए ।

आफन्तले कुटपिट गरेको दाबी गरिरहँदा उनले पोष्टमार्टमपछि सबै विषय बाहिर आउने बताए । कुटपिट भए-नभएकाे दाबीका साथ भन्न नसकिने उनले बताए ।

‘कारागारभित्र यातना दिइएको थियाे भने जाँच गर्दा खुल्छ,’ उनले भने, ‘हामीले बोल्नेभन्दा पनि परीक्षण गर्दा कुटपिट भए-नभएको देखिन्छ ।’

Loading...