मेस्सी भित्र्याउने दौडबाट पछि हट्यो पीएसजी

एजेन्सी, १० भदौ । फ्रेन्च च्याम्पियन क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले बार्सिलोनाका कप्तान लियोनल मेस्सी अनुबन्ध नगर्ने भएको छ । स्पेनिस मिडिया ‘मार्का’का अनुसार यस सिजन खेलाडीका लागि धेरै खर्च गरिसकेका कारण पीएसजीले मेस्सी खरिद नगर्ने भएको हो ।

केही समययता बार्सिलोना छाेड्ने चर्चामा रहेका अर्जेन्टिनी स्टार मेस्सी लिग वान च्याम्पियन क्लबसँग जोडिएका थिए ।

पीएसजीका प्रशिक्षक थोमस टुचेलले समेत उनलाई पीएसजीमा धेरै स्वागत रहेको बताएका थिए । तथापि, पीएसजीले भने उनलाई अनुबन्ध गर्ने कुनै योजना नबनाएको मार्कामा उल्लेख गरिएकाे छ ।

३३ वर्षीय मेस्सीले मंगलबार साँझ बार्सिलोनाबाट निरन्तरता नदिने भन्दै यसै समरमा क्लब छोड्ने वातावरण मिलाइदिन बोर्डसँग आग्रह गरेका थिए ।

सर्वाधिक धेरै छ पटकका बालोन डी‘ओर विजेता मेस्सीले नयाँ प्रशिक्षक रोनाल्ड कोइम्यानसँग काम गर्न नचाहेको संकेत गरेका छन् ।

त्यसबाहेक १४ अगस्टमा भएको च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा जर्मन क्लब बायर्नसँगको ८–२ गोलान्तरको लज्जास्पद हारका कारण उनी क्लब छोड्ने मनसायमा पुगेका हुन् ।

उनी पीएसजीसँगै इंग्लिस क्लब म्यानचेस्टर सिटी र इटालियन क्लब इन्टर मिलानसँग जोडिएका छन् ।

तर, पीएसजीले भने अघिल्लो वर्षयता खेलाडीमा धेरै खर्च भएको जनाउँदै अब महत्त्वकांक्षी सरुवाका लागि रकम खर्च गर्न नसक्ने जनाएको हो । नेयमार र किलियन एम्बाप्पे क्लब आएयता उसले ठूलो रकममा खेलाडी भित्र्याएको छैन ।

पीएसजीले विश्वकै महँगा खेलाडी नेयमार र विश्वकप विजेता एम्बाप्पेको पेरिफेरिमा रहेर टोली निर्माण गरिरहेको छ । अब उसले एक राइट ब्याक, एक सेन्टर ब्याक र एक मिडफिल्डर भित्र्याउने लक्ष्य लिएको बताइएको छ ।

पीएसजीले यसै सिजन मात्र ५० मिलियन युरो माउरो इकार्डीका लागि खर्च गरेको थियो । अब, महामारीका कारण आर्थिक अभाव हुने डरले खेलाडीमा रकम खर्च नगर्ने पीएसजीले जनाएको छ ।

Loading...