रियल मड्रिडले भन्यो : मेस्सीलाई कसैले तलब दिन सक्दैनन्

एजेन्सी, १० भदौ । रियल मड्रिडले बार्सिलोनाबाट कप्तान लियोनल मेस्सीको सरुवा असम्भव रहेको जनाएको छ । रियलका एक सदस्यले क्याप नोउबाट अर्जेन्टिनी स्टार मेस्सीको बहिर्गमन सम्भव नरहेको जनाएका छन् ।

स्पेनिस मिडिया मार्काका अनुसार रियलका एक सदस्यले मेस्सीलाई कसैले पनि तलब दिन नसक्ने जनाउँदै उनको सरुवा अन्य कुनै क्लबमा सम्भव नरहेको बताएका हुन् ।

कोरोना महामारीबाट क्लबहरूको आर्थिक अवस्था खस्किएका कारण कुनै पनि क्लबसँग मेस्सीलाई तलब दिने सामर्थ्य नभएको रियलका एक सदस्यलाई उदृत गर्दै मार्काले जनाएकाे छ ।

३३ वर्षीय मेस्सीले क्लब छोड्ने औपचारिक जानकारी बार्सिलोनालाई गराइसकेका छन् । मंगलबार साँझ मेस्सीले बार्सिलोनाबाट निरन्तरता नदिने भन्दै यसै समरमा क्लब छोड्ने वातावरण मिलाइदिन बोर्डसँग आग्रह गरेका थिए ।

सर्वाधिक धेरै छ पटकका बालोन डी‘ओर विजेता मेस्सीले नयाँ प्रशिक्षक रोनाल्ड कोइम्यानसँग काम गर्न नचाहेको संकेत गरेका छन् । त्यसबाहेक १४ अगस्टमा भएको च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा जर्मन क्लब बायर्नसँगको ८–२ गोलान्तरको लज्जास्पद हारका कारण उनी क्लब छोड्ने मनसायमा पुगेका हुन् ।

मेस्सीको पछिल्लो अवस्थाबारे इंग्लिस म्यान्चेस्टर सिटीले अनुगमन गरिरहेको छ । त्यसबाहेक इटालियन क्लब इन्टर मिलान र फ्रेन्च क्लब पीएसजीले मेस्सी अनुबन्धन गर्ने इच्छा देखाएको बताइएको छ ।

तर, ला लिगा प्रतिद्वन्द्वी क्लब रियलले भने बार्सिलोनाका फरवार्ड मेस्सीलाई कसैले तलब दिन नसक्ने जनाउँदै उनको सरुवा सम्भव नरहेको जनाएको छ ।

यसअघि उनको सरुवा सम्भव रहेकाे भएपनि महामारीका कारण सिर्जित आर्थिक समस्याका कारण उनको सरुवा सम्भव नरहेको रियलको भनाइ छ ।

Loading...