प्रदेश १ मा पहिलोपटक घाटमा जल्यो कोरोना संक्रमितको शव

विराटनगर, १० भदौ । कोरोना संक्रमणका कारण ज्यान गुमाएकी विराटनगरकी महिलाको शव आफन्तले धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरेका छन् ।

कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव नेपाली सेनाले व्यवस्थापन गर्दै आएको थियो । तर बुधबार विराटनगर ११ की ४४ वर्षीया महिलाकाे शव विराटनगरकै सिंघिया खोला किनारमा रहेको परमविश्रान्ती घाटमा आफन्तले धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरेका हुन् ।

कोरोना संक्रमणबाट ज्यान गुमाएका व्यक्तिको चिता बनाएर शव जलाइएको प्रदेश १ मा यो नै पहिलो घटना हो ।

सामान्य अवस्थामा मृत्यु भएकाको अन्त्येष्टि गर्ने स्थानभन्दा केही पर संक्रमित महिलाको शवको दाहसंस्कार परिवारका सदस्य, आफन्त र नातेदारको उपस्थितिमा भएको हो ।

आफन्तबाट आफैं अन्त्यष्टि गर्ने निवेदन परेपछि जिल्लास्तरीय कोरोना क्राइसिस मेनेजमेन्ट सेन्टरकाे निर्णय गरेर संक्रमितको शव जलाउन परिवारलाई अनुमित दिइएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

उनका अनुसार कोभिड–१९ ले मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि २०७६ लाई आधार मानेर मृतकका परिवारले दाहसंस्कार गर्न पाउनु पर्ने माग राख्दै निवेदन दिएका थिए ।

कुनै संक्रमितको मृत्यु हुँदा आफन्तले धार्मिक परम्पराअनुसार दाहसंस्कार गर्न चाहेमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूरा गरेर सजगकता अपनाउँदै नेपाली सेनाको सहयोग र व्यवस्थापनमा शवको अन्त्येष्टि गर्न पाउने कुरा कार्यविधिमा उल्लेख छ ।

संक्रमितको दाहसंस्कारमा सहभागी हुने परिवारका सदस्य, आफन्त एवं नातेदारले पीपीई लगाएको हुनुपर्ने, १० जनाभन्दा बढी मलामी सहभागी हुन नपाइने, अन्तिम संस्कारबाट फर्किएपछि ‘क्वारेन्टाइन’मा बस्नुपर्ने, शव नजिक गएर छुन वा चलाउन नपाइने र शव व्यवस्थापनका लागि आवश्यक सबै कुरा परिवारले मिलाउनुपर्ने नियम छ ।

उच्च अदालत विराटनगरले कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका व्यक्तिका परिवारका सदस्य, आफन्त वा नातेदारलाई अन्तिम संस्कारमा उपस्थित गराउन सोमबार अन्तरिम आदेश जारी गरेको थियो ।

Loading...