कांग्रेसलाई संस्थागत रूपमा अगाडि बढाउने नेतृत्त्व आवश्यक छ : नेता सिंह

काठमाडाैं, १० भदाै । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई संस्थागत रूपमा अगाडि बढाउने नेतृत्त्व काँग्रेसभित्र आवश्यक रहेको बताएका छन् ।

नेपाल महिला संघका संस्थापक अध्यक्ष मंगलादेवी सिंहको २४ औँ स्मृति दिवसका अवसरमा सङ्घको केन्द्रीय समितिले बुधबार आयोजना गरेको ‘वर्तमान अवस्थामा महिलाको चुनौती र नेपाली काँग्रेसको विधान’ विषयक भर्चुअल अन्तर्क्रियामा बाेल्दै नेता सिंहले यस्तो बताएका हुन् ।

उनले काँग्रेसको नेतृत्वप्रति कार्यकर्ताको भरोसा गुम्दै गएको बताउँदै भने, “काँग्रेस बलियो भएन भने लोकतान्त्रिक व्यवस्था बलियो हुन सक्दैन, काँग्रेस बलियो बनाउनका लागि ठिक नेतृत्वको हातमा काँग्रेसलाई लैजानुपर्छ ।आर्थिक क्रान्तिको नेतृत्व काँग्रेसले मात्र गर्नसक्ने उनको भनाइ थियो ।

नेता सिंहले नेपाली महिलाको हक, अधिकारका लागि मंगलादेवीले आवाज उठाएको उल्लेख गर्दै पहिचान, स्वतन्त्रताका लागि लड्ने साहसी महिला स्व सिंह भएको उल्लेख गरे ।

पार्टीको १४ औँ महाधिवेशनका लागि महिलालाई क्रियाशिल बनाउनु जरुरी रहेको सिंहको भनाइ थियो । रासस

Loading...